कारवाहीमा परेको एफसी पोतालाको फुटबल टिम ।

हेटौँडाः हेटौंडामा जारी मकवानपुर जिल्ला लिग फुटबलमा सेमिफाईनल प्रवेश गरेको एफसी पोताला क्वार्टरफाइनलबाटै बाहिरिने भएको छ । सोमबार हेटौंडा –५ स्थित पिप्ले क्याम्पा रंगशालामा न्यु कम्वाईन क्लबलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको एफसी पोतालालाई अन्य जिल्लामा लिग खेलिसकेको खेलाडी नियम विपरित खेलाएको भन्दै कारवाही गरेर न्यू कम्बाइनलाई विजयी घोषित गरिएको छ । एफसी पोताला क्लब मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको क्लब हो । अध्यक्षले नै आफ्नो क्लबबाट नियम विपरित खेलाडी खेलाएको भनी सर्वत्र आलोचना भएको छ ।

पहिलो क्वार्टरफाईनल खेलमा पोतालाले कम्वाईनलाई २–१ गोलअन्तरले हराउँदै प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको थियो । तर, खेलमा पोतालाले नियम विपरित खेलाडी खेलाएको भन्दै न्यु कम्बाईनले खेल संयोजक र अनुशासन समिति समक्ष उजुरी दर्ता गराएकोे थियो । कम्बाईनले पोतालाका खेलाडी सन्त घलेले गोरखा लिग खेलेको मकवानपुर जिल्ला बाहिरको खेलाडी भएको भन्दै लिग समिति समक्ष उजुरी दर्ता गराएको थियो । न्यू कम्बाईनको उजुरीका आधारमा छानबिन गर्दा घले गत जेठ महिनामा संचालित गोरखा लिगमा खेलेको पाइएकोले कम्बाईनको उजुरीलाई सदर गर्दै नजिता उल्टाउने निर्णय भएको मकवानपुर फुटबल संघका महासचिव छवी सुवेदीले जानकारी दिनुभयो ।

महासचिव सुवेदीका अनुसार कुनैपनि खेलाडीले एकवर्ष भित्र एकभन्दा बढि लिगमा खेल्न नपाइने मकवानपुर फुटबल संघको नियम रहेको छ । एफसी पोतालाले सोही नियम उल्लंघन गर्दै खेलाडी खेलाएकाले कार्वाही स्वरुप जितेको खेललाई पनि हारेको निर्णय गर्नुपरेको सुवेदीले बताउनुभयो । न्यु कम्वाईनले हालेको उजुरी शुल्क समेत फिर्ता गरीएको सुवेदिले बताउनुभएको छ । उक्त निर्णय सँगै क्वार्टरफाइनलबाट बाहिरिएको न्यु कम्वाईन प्रतियोगिताको सेमिफाईनल प्रवेश गर्ने भएको छ भने एफसी पोताला क्वार्टरफाइनलबाट बाहिरिने भएको छ ।

एफसी पोताला एन्फा केन्द्रिय सदस्य एवं मकवानपुर फुटबल संघका अध्यक्ष टिकारामा लामाको क्लब हो भने न्यु कम्वाईन फुटबल संघक कार्यसमिति सदस्य सविन राईको क्लब हो । नियम विपरित खेलाडी खेलाएको विषयमा बुझ्न खोज्दा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको मोवाइल अफ थियो । लिगमा सहभागी क्लबहरुले अध्यक्षले अनैतिक कार्य गरेको भन्दै क्लबलाई कारवाहीको माग गर्दै संयुक्त ध्यानाकर्षण गराउने तयारी समेत भइरहेको बताइएको छ । एफसी पोताला समूह चरणमा शीर्षस्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको थियो ।