कुसुमराज सुवेदी ।

हेटौँडाः बागमती विश्वविद्यालयको उपाध्यक्षमा कुसुमराज सुवेदी नियुक्त हुनुभएको छ । मंगलबार बसेको बागमती विश्वविद्यालयको कार्यकारी परिषद्ले सुवेदीलाई उपाध्यक्ष नियुक्त गरेको हो ।

चितवन जिल्लाको खैरहनी–५ निवासी सुवेदी २० वर्षदेखि शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । खैरहनी–३ स्थित सहिद स्मृति बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आउनुभएका सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र संकायमा शिक्षाशास्त्र तथा पाठ्यक्रम मूल्यांकन अन्तर्गत शिक्षणविधि विषयमा विद्यावारिधी गर्नुभएको छ ।

बागमती विश्वविद्यालयको विधान २०८० को परिच्छेद ६ को दफा १२ मा व्यवस्था गरिएको कार्यकारी परिषद्ले सुवेदीलाई उपाध्यक्षमा नियुक्त गरेको हो । सोही विधानको परिच्छेद ८ को दफा १५ मा उपाध्यक्षको व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा (१) मा उपाध्यक्ष विश्वविद्यालयको प्रशासकीय प्रमुख हुने व्यवस्था गरिएको छ भने उपदफा २ मा उपाध्यक्षको नियुक्ति संरक्षक समितिले गठन गरेको छनौट समितिले सिफारिस गरेका तीनजना उम्मेदवार मध्येबाट कार्यकारी परिषद्ले गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार संरक्षक समितिले सुवेदीलाई जिम्मेवारी दिएको हो । विधान अनुसार उपाध्यक्षको पदावधि ४ वर्षको रहने छ ।

सुवेदीसहित ५ जना आकांक्षीको नाम उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले संक्षिप्त सूचिमा समावेश गरेको थियो । सिफारिस समितिले उपाध्यक्ष नियुक्ति मापदण्ड अनुसार माग गरेका कागजात र कार्ययोजना अनुसार आकांक्षीले आवेदन पेश गरेका थिए ।

उपाध्यक्षको काम, कर्तव्य र अधिकार
विश्वविद्यालयको उपाध्यक्षले अध्यक्षको सामान्य रेखदेख र निर्देशनमा शैक्षिक, आर्थिक र सामान्य प्रशासन सम्बन्धी कार्य गर्ने व्यवस्था विधानमा गरिएको छ । उपाध्यक्षले विश्वविद्यालयको वार्षिक योजना तथा बजेट तयार गरी कार्यकारी परिषद्मा पेश गर्ने, विश्वविद्यालयको सञ्चालन खाताको जिम्मेवारी लिई सञ्चालन गर्ने, विश्वविद्यालयको लेखा राख्ने, लेखापरीक्षण गराउने जिम्मेवारी रहने छ ।

विश्वविद्यालयमा अध्ययन अध्यापनका लागि आउने विदेशी विद्यार्थी तथा शिक्षकहरुको प्रवेशाज्ञा अनुमति तथा अध्यागमन सम्बन्धी कार्य मन्त्रालयमार्फत नेपाल सरकार समक्ष पेश गर्ने, विश्वविद्यालयमा विद्यार्थी दर्ता गर्ने, विद्यार्थीको तथ्यांक राख्ने, स्थानान्तरणको प्रमाणपत्र जारी गर्ने, गराउने जिम्मेवारी उपाध्यक्षमा रहेको छ ।