हेटौँडाः कवि यश लामाको पहिलो कृति ‘बहिष्कृत आवाज’ शनिबार हेटौँडामा विमोचन हुँदैछ । लामाको पहिलो कृतिको रुपमा कविता संग्रह ‘बहिष्कृत आवाज’ सार्वजनिक हुन लागेको हो ।

कविता सङ्ग्रहमा सामाजिक रुपमा पछाडि परेका, समाजबाट बहिष्कार भएका वर्गको आवाज कविता मार्फत प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाको भनाइ छ । विद्यालय जीवनदेखि नै कविता लेख्दै आउनुभएका बारा जिल्लाको निजगढ नगरपालिका–७ का स्थायीवासी लामाले करिब १० वर्ष अवधिमा लेखिएका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा समावेश गर्नुभएको छ ।

“विद्यालय जीवनदेखि नै कविता लेख्ने प्रयास गरेको हुँ । २०६८ सालदेखि भने सचेत भएर कविता लेख्न थालेँ”, लामाले भन्नुभयो, “बहिष्कारमा परे, पारिएका वर्गको आवाजलाई कवितामार्फत प्रस्तुत गर्ने प्रयास गरेको छु ।” लामाको कृति सांग्रीला बुक्सले प्रकाशन गरेको हो । शनिबार सार्वजनिक हुने यश लामाको ‘बहिष्कृत आवाज’ कवितासंग्रहमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा. रामजी रामले विमर्श गर्नुहुनेछ ।

विभिन्न कविता प्रतियोगिताहरुमा सहभागी भएर पुरस्कृत हुनुभएका लामा अहिले शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । २०६१ सालमा बारा जिल्लाको निजगढ नगरपालिका–७ स्थित नेत्रोदय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएका लामाले कक्षा ११ र १२ निजगढ–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयबाट पूरा गर्नुभयो । शिक्षाशास्त्र संकायबाट नेपाली विषयमा स्नातक र स्नात्तकोत्तर तहको शिक्षा लामाले हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसबाट पूरा गर्नुभयो । २०६५ सालदेखि नै शिक्षण पेशामा सक्रिय लामाले २०७६ सालमा शिक्षक सेवा आयोगले लिएको निमावि तहको परीक्षा उत्तीर्ण गरी स्थायी सेवामा हुनुहुन्छ । लामा हाल निजगढ–७ स्थित नेत्रोदय माध्यमिक विद्यालयमा कार्यरत हुनुहुन्छ ।