हेटौँडाः हृदयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ मा आधारित नाटक हेटौँडामा मञ्चन गरिएको छ । मंगलबार नाट्यशाला काठमाडौं र साहित्य संंगम मकवानपुरको संयुक्त आयोजनामा विद्यार्थी माझ नाटक मञ्चन गरिएको हो । कक्षा १२ को अनिवार्य नेपाली विषयमा अध्ययन गर्नुपर्ने उपन्यास विद्यार्थीलाई प्रभावकारी बुझाई रहने अपेक्षासहित मञ्चन गरिएको हो ।

हेटौंडा–४ स्थित रोयल प्यालेसमा मञ्चन गरिएको नाटकको पहिलो शोमा डेढ सयभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । नाटकका निर्देशक नकुल पौडेलले नाटकको माध्यमद्वारा उपन्यासलाई विद्यार्थीहरुमाझ बुझाउन खोजिएको बताउनुभयो । अहिलेसम्म मकवानपुरसहित नवलपरासी र चितवनमा विद्यार्थीहरु लक्षित उक्त नाटक मञ्चन गरिएको भन्दै उहाँले आउँदो मंसिरदेखि काठमाडौं र इटहरीमा पनि मञ्चनको तयारी भइरहेको बताउनुभयो । मकवानपुरमा मंगलबार ५२ औं शोको रुपमा एक चिहान मञ्चन गरिएको उहाँले बताउनुभयो ।

नाटकमा उज्ज्वल राज ढकाल, सुमन तिमल्सिना, सविता तामाङ, लक्ष्मण डुम्रे, बबी भारती र अञ्जु लगायत लगायतको अभिनय रहेको छ । नाटक हेर्न विद्यार्थीहरुका लागि ३ सय रुपैयाँ शुल्क तोकिएको थियो । यस्तै मकवानपुर बहुुमुखी क्याम्पसका नेपाली विषयका प्राध्यापक एवम् साहित्यकार निमेष निखिलले उक्त नाटक विद्यार्थी लगायत सबैका लागि महत्वपूर्ण भएको बताउनुभयो । नाटकको माध्यमद्वारा पाठलाई बुझ्न सकिने उहाँले बताउनुभयो । यसले नाटक संंस्कारको पनि विकास हुने उहाँको भनाई छ ।