हेटौँडाः २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनको नेपाली काँग्रेसले २ वर्षपछि समीक्षा गर्ने भएको छ । कांग्रेसको संरचना अनुसार केन्द्रमा स्थानीय तह समन्वय विभाग गठन भएसँगै समीक्षा कार्य अघि बढाइएको हो ।
निर्वाचन सम्पन्न भएको २८ महिनापछि जिल्ला जिल्लामा पुगेर समीक्षा गर्ने भएको हो । काँग्रेस मकवानपुरले बुधबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको तयारी सुरु भएको जानकारी दिएको छ । काँग्रेसले स्थानीय तह समन्वय विभागले मकवानपुरमा २०७९ वैशाखमा सम्पन्न निर्वाचन समीक्षा यही भदौ ३० मा गर्ने तयारी गरेको नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिनुभएको छ ।
पार्टीले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि पहिलो पटक हेटौँडामा कार्यक्रम हुन लागेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय तहमा वडा, पालिका, नगर र उपमहानगरमा उम्मेदवार भएका सम्पूर्णलाई उपस्थित गराएर समीक्षा गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार भेलामा स्थानीय तह निर्वाचनको विषयमा समीक्षा र अबको मार्गनिर्देशनबारे छलफल हुनेछ । भेलालाई केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यतालिका रहेको उहाँले जानकारी दिनुभएको छ ।