हेटौँडाः हेटौँडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित ज्योति माध्यमिक विद्यालयमा आत्महत्यासम्बन्धी अभिमुखीकरण तथा परामर्श कार्यक्रम भएको छ । मंगलबार हेटौँडा उपमहानगरपालिका र जनस्वास्थ्य कार्यालय मकवानपुरको संयुक्त आयोजनामा आत्महत्यासम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो ।
पालिकाले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्यासम्बन्धी परामर्श कार्यक्रम आयोजना गरेको हो । हेटौंडाको हर्नामाडीमा धेरै आत्महत्याका घटना देखिएका कारण पालिकाले ज्योति माविमा परामर्श कार्यक्रमको आयोजना गरेको कार्यालयका फोकल पर्सन बासु रिमालले बताउनुभयो । रिमालका अनुसार अभिमुखीकरण कार्यक्रममा एक सय जना विद्यार्थीको उपस्थिति रहेको थियो भने ६ जना विद्यार्थीलाई परामर्शसमेत दिइएको थियो । हर्नामाडीमा भएको कार्यक्रममा विद्यार्थीलाई ३ जना नर्सले परामर्श गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीले महिलामा हुने प्रजनन् सेवा तथा महिनाबारीमा हुने समस्याको विषयमा जिज्ञासा राखेका थिए । परामर्श कार्यक्रममा हेटौँडा–१८ का वडा अध्यक्ष अनिलकुमार बानियाँ, विद्यालयका प्रधानध्यापक जयराम थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको समेत उपस्थिति रहेको थियो । ज्योति माविमा मात्र नभई मंगलबार हेटौंडाका विभिन्न विद्यालयमा विद्यालय नर्सहरुले विद्यार्थीलाई आत्महत्या रोकथामसम्बन्धी परामर्श दिएका छन् ।