हेटौँडाः हेटौँडा–१० स्थित भुटनदेवी क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । शनिबार हेटौँडा–१० स्थित भुटनदेवी मन्दिर परिसरमा भएको रक्तदान कार्यक्रममा १९ जना पुरुष र ७ जना महिलाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा मकवानपुरको फुटबल खेलाडी छिरिङ लामालाई सम्मान गरिएको छ । मकवानपुर जिल्लाको प्रतिनिधित्व गरेर राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सहभागी हुन सफल भएकोले लामालाई १० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रममा रक्तदान गर्ने रक्त दाताहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ ।
भुटनदेवी क्लबका अध्यक्ष राजु विष्टको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाका वडाध्यक्ष फूर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा मानव अधिकारकर्मी शर्मिला श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भेष खड्गी, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, उपाध्यक्ष युवाराज लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा उप–केन्द्र हेटौंडाको सहकार्य रहेको थियो । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र हेटौँडाको रहेको थियो ।