हेटौंडाः जिल्ला प्रहरी कार्यालय बाराले करिब १ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । बारा प्रहरीको मातहतबाट खटिएको प्रहरी टोलीले ९८ लाख ९३ हजार ५ सय ३१ रुपैयाँको अवैध सामानसहितको ट्रक नियन्त्रणमा लिएको हो ।
मंगलबार २ बजेको समयमा बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–२१ मा वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २४३८ नम्बरको ट्रकलाई रोकी सुरक्षाजाँच गर्दा ट्रकमा लोड गरेको ९८ लाख ५८ हजार ५ सय ३१ रुपैयाँ बराबरको सामानहरु नियन्त्रणमा लिएको बारा प्रहरीले जानकारी दिएको छ ।
यस्तै, सोमबार १० बजेर २० मिनेटको समयमा बिश्रामपुर गाउँपालिका–१ मा भारतबाट नेपालतर्फ भन्सार छली गरी मोटरसाइकलमा ल्याउँदै गरेको ३ लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिएको छ । उक्त मोटरसाइकल चालक फरार भएको बताइएको छ । सामानहरु नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।