हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिगअन्तर्गत बुधबार भएको खेलमा गोर्खा ब्वाइज र मल्टिभिजन विजयी भएको छ । सिमलटार मैदानमा हुने भनिएको एफसी नामटार र पदमपोखरी युथ क्लब तथा गौरीटार रंगशालामा हुने भनिएको हटिया स्पोर्टस् र न्यू कम्बाइन क्लबबीचको खेल वर्षाका कारण स्थगित भएको छ ।
बुधबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा पिप्ले युवा क्लबलाई २–१ गोलअन्तरले हराउँदै गोर्खा व्याइज विजयी भएको हो । यस्तै, सानोपोखरा क्लबलाई ८–१ गोलअन्तरले हराउँदै एफसी मल्टिभिजन विजयी भएको हो । गोर्खाबाट प्रितु लामा र प्रशान्त देउलाले एक–एक गोल गरे । पिप्लेका लागि सम्पूर्ण नगरकोटीले एक गोल गरे । म्यान अफ द म्याच प्रितु लामा घोषित भए । यस्तै, मल्टिभिजनबाट रामकृष्ण राउत र अखिलेश कार्कीले ह्याट्रिक गरे । सुमन लो र जेनिश थपलियाले समान एक–एक गोल गरे । म्यान अफ द म्याच राउत घोषित भए ।
प्रतियोगिताअन्तर्गत बुधबार स्थगित भएको खेल आज बिहीबार बिहान सञ्चालन हुने फुटबल संघले जनाएको छ । प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । जिल्ला लिगमा २८ वटा टिमको सहभागिता रहेको छ ।