हेटौँडाः राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनले मकवानपुरमा आधा करोड रुपैयाँभन्दा बढी रकमको पुस्तक बिक्री गर्नुभएको छ । पुनले गएको साउन ३१ गतेदेखि भदौ १३ गतेसम्म दुई साताको अवधिमा मकवानपुरमा आधा करोडभन्दा बढीको पुस्तक बिक्री गर्नुभएको हो ।
वैज्ञानिक पुनले ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखानालाई सञ्चालनमा ल्याउन आफ्नो जीवनी पुस्तक ‘महावीर पुन’ आफैं बिक्री गरिहनुभएको छ । पुस्तक बिक्री गर्ने आफ्नो अभियानको दुई सय दिनपछि महावीर पुन मकवानपुरमा आइपुग्नुभएको थियो । उहाँले मकवानपुरमा ७ हजार थान पुस्तक बिक्री गर्नुभएको छ । उहाँले मकवानपुरका स्थानीय तहहरु, प्रदेशका मन्त्रालयहरु, विद्यालय, कलेज, संघसंस्था र चोकचोकमा गरी ७ हजार थान पुस्तक बिक्री गर्न सफल हुनुभएको हो । पुस्तकको मूल्य विद्यार्थीका लागि ७ सय र अन्यका लागि ७ सय ५० रुपैयाँ तोकिएको थियो ।
वैज्ञानिक पुनलाई पुस्तक बिक्री गर्ने अभियानमा मकवानपुरले राम्रो साथ दिएको छ । महावीर पुन पुस्तक बिक्री गर्न चोकमा पुग्दा पुस्तक किन्नेहरुको घुँइचो नै लाग्ने गथ्र्यो । मकवानपुरमा हिमालयन राइडर्स सोसाइटी मकवानपुरका उपाध्यक्ष राजु थापा मगरले महावीर पुनलाई मकवानपुरका जनताले पुस्तक बिक्री अभियानमा राम्रो साथ दिएको बताउनुभयो । आफूहरुले पनि स्वेच्छाले मकवानपुरमा पहिलो दिनदेखि अन्तिम दिनसम्म महावीर पुनलाई पुस्तक बिक्रीमा सहयोग गरेको जानकारी दिनुहुँदै मगरले सबैको माया पाएको बताउनुभयो ।
विद्यालय, कलेज र संघसंस्थाहरु आफैंले बोलाएर पुस्तक किन्ने काम गरेको उहाँले बताउनुभयो । त्यसले गर्दा पुस्तक कहाँकहाँ बेच्ने भनेर भौंतारिएर हिँड्न नपरेको उहाँको भनाइ छ । कार्यक्रम तय भएको र बोलाएको ठाउँमा पुगेरमात्र पुस्तक बिक्री गरेको उहाँले बताउनुभयो । सरकारले चलाउन नसकेर बन्द रहेको देशकै गौरवको उद्योग चलाउन आफैं माइक बोकेर आफैं पुस्तक बेच्ने अभियानमा हिँडनुभएका पुनलाई सहयोग गर्न पाएको भन्दै उहाँले खुशी पनि व्यक्त गर्नुभयो । पुस्तक बेच्ने अभियानअन्तर्गत मकवानपुरमा सामाजिक क्षेत्रमा काम गर्ने दिनेश वाइबा र रमित ठकुरीले पुनलाई सहयोग गर्नुभएको थियो । उहाँहरुले पुनको मकवानपुर बसाईभरी सहजीकरण गर्दै पुस्तक बेच्न सहयोग गर्नुभएको हो ।
वैज्ञानिक महावीर पुन पुस्तक बेच्ने अभियानमा निस्केको २ सय १५ दिन पूरा भएको छ । मकवानपुरमा पुस्तक बेचेर महावीर पुन बारामा पुग्नुभएको छ । हालसम्म १ लाख ३० हजारभन्दा बढी पुस्तक बिक्री गर्न सफल भएको जनाइएको छ । उहाँले पुस्तक बेचर हालसम्म ९ करोड रुपैयाँभन्दा बढी रकम संकलन गर्नुभएको छ ।