हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रथम संस्करणको मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा मंगलबार ४ खेल सम्पन्न भएको छ । हेटौंडा–११ स्थित सिमलटार खेल मैदानमा दुई र हेटौंडा–६ स्थित गौरीटार रंगशालामा दुई गरी मंगलबार प्रतियोगिताको ४ खेल सम्पन्न भएको हो ।

सिमलटार मैदानमा भएको पहिलो खेलमा विजय युथ क्लबलाई १–० गोलले हराउँदै एफसी इन्टरनेट विजयी भएको छ । एफसी इन्टरनेटले उपहार स्वरुप प्राप्त गरेको आत्माघाति गोल निर्णायक गोल हुन पुगेको हो । विजय युथका अर्जुन गोलेले आत्माघाति गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच इन्टरनेटका मिक्सन लामा घोषित भएका छन् ।

सिमलटार मैदानमै भएको दोस्रो खेलमा हेटौंडा फुटबल एकेडेमीलाई ३–० गोलको फराकिलो अन्तरले हराउँदै साविक विजेता न्यू डाँफे युवा क्लब विजयी भएको छ । यसअघि उद्घाटन खेलमा महाबीर क्लबलाई ७–० को फराकिलो अन्तरले हराएको डाँफे क्लबले दोस्रो खेलमा फुटबल एकेडेमीलाई पराजित गरेको हो । डाँफेको जीतमा सुशान्त गोलेले दुई गोल गरेका हुन् भने निश्चल थापा मगरले एक गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच किशन थापा मगर घोषित भएका छन् ।

यता, गौरीटार रंगशालामा भएको पहिलो खेलमा आरआर वाईसीलाई २–० गोलले हराउँदै सक्षम युवा क्लब विजयी भएको छ । दोस्रो खेलमा महाबीर क्लबलाई ६–० गोलले हराउँदै रियल स्टार क्लब विजयी भएको छ । सक्षम युवा क्लबको जीतमा सविन गिरी र हेनिस मगरले समान एक–एक गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच उत्तम श्रेष्ठ घोषित भएका छन् । रियल स्टारको जीतमा सुजन पाख्रिनले ह्याट्रिक गरेका छन् भने निमा रुम्बा, अनिश तामाङ र साजन थिङले समान एक–एक गोल गरेका छन् । म्यान अफ द म्याच अनिल मोक्तान घोषित भएका छन् ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ ।