हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–३ स्थित प्रजा आधारभूत विद्यालयको प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक भएको छ । मंगलबार विद्यालयले अभिभावकको उपस्थितिमा एक समारोहका बीच प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
प्रथम त्रैमासिक परीक्षामा सहभागी भएका ३ सय २४ जना विद्यार्थीमा ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको प्रधानाध्यापक तुलबहादुर सुनारले जानकारी दिनुभएको छ । विद्यालयका ३ सय ११ जना विद्यार्थी उत्तीर्ण भएकोमा १३ जना अनुत्तीर्ण भएको प्रधानाध्यापक सुनारले बताउनुभयो । परीक्षामा विद्यालयको बालविकास कक्षादेखि ८ कक्षासम्मका विद्यार्थीहरु सहभागी भएको उहाँले बताउनुभयो । गत साउन ३१ गतेबाट भदौ ७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सम्बन्धित विद्यार्थीको अभिभावकलाई हस्ताक्षर गराएर मार्कसिट वितरण गरिएको उहाँको भनाइ छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष कर्णबहादुर घलानको सभाध्यक्षमा नतिजा सार्वजनिक कार्यक्रम भएको हो । बालविकास कक्षादेखि ८ सम्मका परीक्षामा प्रथम हुने विद्यार्थीलाई पुरस्कारस्वरुप शैक्षिक सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो । कक्षा ३ सम्मका विद्यार्थीलाई कापी र कलम पुरस्कारस्वरुप प्रदान गरिएको थियो भने ४ कक्षादेखि ८ सम्मका विद्यार्थीलाई कापी र डट्पेन प्रदान गरिएको थियो ।
कमजोर नतिजा ल्याउने र विद्यार्थीको निरन्तर उपस्थितिको विषयमा पनि अन्तरक्रिया गरिएको छ । विद्यार्थीलाई राम्रो नतिजा ल्याउने कसरी बनाउने, पढाइप्रति ध्यान कसरी केन्द्रित गराउने भन्ने विषयमा पनि छलफल गरिएको उहाँको भनाइ छ । विद्यालयमा एउटा टेलिफोनको व्यवस्था गरिएको बताउनुहुँदै प्रधानाध्यापक सुनारले भन्नुभयो, “यदि कुनै विद्यार्थी विद्यालयमा उपस्थित नभएको अथवा अन्य अवस्थामा हामी उनीहरुका अभिभावकलाई फोन गर्नेछौं ।”
जनजातिका विद्यार्थीको बाहुल्यता भएको विद्यालयमा छात्रवृत्ति अभाव र कक्षाकोठाकाको अभाव रहेको उहाँले बताउनुभयो । विद्यालयको विभिन्न संरचना निर्माण गर्नुपर्ने बताउनुहुँदै विद्यालयलाई हिमराइट्स नेपाल, रेष्टलगायतका संस्थाहरुले सहयोग गरेको प्रधानाध्यापक सुनारले जानकारी दिनुभएको छ ।