हेटौंडाः बागमती प्रदेशको एउटा संसदीय समितिको बैठक आज बुधबार बस्दैछ । प्रदेशसभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिको बैठक आज बस्ने तय भएको हो ।
बुधबार दिउँसो २ बजे समितिको बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । विगत एक वर्ष देखि विचाराधीन विधेयक माथि छलफल गर्न बैठक आह्वान गरिएको हो । विभिन्न कारणले सो समितिको बैठक संचालन हुन नसक्दा २०८० असोजमा दर्ता भएको प्रदेश हस्तकला ग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अड्किएको छ ।
सत्ता समीकरण, सरकार परिवर्तन र बजेटका कारण सो समितिको बैठक संचालन तथा विधेयक माथिको छलफल अघि बढ्न सकेको थिएन । प्रदेशसभा संचालनको बखतमा बसेको सो समितिको बैठकले ३० दफा रहेको हस्तकला ग्राम सम्बन्धि विधेयकको ९ वटा दफाको दफावार छलफल गरेको छ ।
बैठक आह्वान नहुँदा विधेयकको अन्य दफावार छलफल र संशोधन प्रस्तावले गति लिन सकेको छैन ।समितिको आज बस्ने बैठकले सो विधेयकको दफा छलफल र संशोधन प्रस्ताव टुंग्याउने तयारी गरेको छ । सो विधेयकका विभिन्न दफा उपर ५ सांसदले २० वटा संशोधन दर्ता गरेका छन् ।