घनश्याम ढकाल

मंगलं परमात्माच मगलं भक्तवत्सलमः
मंगलं सच्चिदानन्दो मंगलं व्रजबल्लभः
भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्री कृष्ण जन्माष्टमी पर्व श्री कृष्ण प्राकट्य महोत्सव पूर्वब्रह्म परमात्मा श्री कृष्णको पूजा आराधना गरी मनाइन्छ । विश्वभरका हिन्दू धर्मावलम्बी अनि श्री कृष्णका भक्तहरु तथा सुन्दर साथहरुले आज भक्तका अति नै प्रिय प्राणबल्लव श्री अक्षराति श्री कृष्णको प्राकट्य महोत्सव एवम् जन्मदिवस मनाउँदैछन् ।
हातमा बाँसुरी शिरमा मुकुट, शितल बगैँचा वृन्दावनमा जीवजन्तुहरुको साथमा गोपिनी सखीहरुको मायामा बाँसुरीको मधूर धून बजाउने आत्माका प्यारा प्राण वल्लभ कन्हैया श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहनु भएका पिता वसुदेव र माता देवकीको गर्भबाट प्रकट हुनु भएको शास्त्रीय मान्यता रही आएको छ ।

वसुदेव गृहे साक्षात् भगवान् पुरुषः परः ।
जनिष्यते तात्प्रियार्थ संभवन्तु सुरस्त्रीयः ।। (भागवत–१०)

वासुदेव वन्दीगृहमा साक्षात् पुरुषोतम् दिव्यधामबाट आफ्ना ब्रह्मप्रियाहरुको उद्दारणार्थ प्रकट हुनुभएको हो भनी राजा परिक्षितलाई सुकदेव मुनिले बताउनु भएको छ । उनै विष्णुले कृष्णावतार लिनुभएको तर भगवत् दशम स्कन्दमा श्री कृष्णको त्रिधालिला हेर्दा विष्णु र कृष्णमा भेद फरक पाइन्छ ।

सर्वेश्वरेश्वर कृष्ण सर्वकारण कारणे ।
सर्वाध्य सर्वदेवानां सेव्यं सर्वान्तरात्मनः ।। ‘ब्रह्मवैवर्तपुराण’

सबै नारायण आदि ईश्वरका पनि ईश्वर, कारणका पनि कारण, सबै देवताहरुले धपाइएका, सबैका आत्मास्वरुप श्री कृष्णलाई अरु देवता बराबर मात्र सम्झेमा ब्रह्महत्या गरेको पाप लाग्दछ, वसुदेवजी श्री कृष्णलाई गोकुलमा लान स्पर्श गर्नुहुन्छ । ब्रह्मशक्तियुक्त बालकको स्पर्श गर्ना साथ आफ्ना अंगका प्रत्येक बन्धन छुट्छन् । अनि एक टोकरी त्यहाँ आइपुग्दछ । टोकरीमा कंश कारागारमा प्रकट हुनु भएको बालकलाई उठाएर राखी निस्कन लाग्दा ढोका आफैं खुल्दछ । पाले पहराहरु मस्त निन्द्रामा पर्दछन् ।

बासुदेव सुत श्रीमान् वासुदेव खिलात्मनि ।
लिनो नन्द सुतौ राजन विद्युत मेघे यथा तथा ।।

क्षरदेखि पर अक्षर, अक्षरदेखि पर अक्षरातीले धामबाट एउटा कामका लागि आएर करोडौं कार्य सफल गर्न नन्दघरमा परमपुरुषको शक्तिस्वरुप तेजस्वी बालक प्रकट हुनुभएको बालकमा वासुदेवले टोकरीमा हालेर लानुभएको बालक बिजुली चम्केझैं गरी मिल्न गई एकैरुप हुनु भएको बालकलाई गर्गाचार्यले गुणअनुसार श्री कृष्ण नामाकरण गर्नु भयो । बासुदेवले आफूले लगेको बालक दिव्य पुरुषमा जब मिली एक भयो अनि योगमाया शक्तिलाई लिएर कारागृहमा एवम् बन्दीगृहमा प्रवेश गर्नासाथ वसुदेव पूूर्ववत् बन्धनबाट मुक्त हुनु भयो ।

बालिका कारागारमा भित्र प्रवेश भएपछि रोदन गर्न लाग्नुभयो । बालिकाको स्वर सुनी पालेपहराहरु व्युँझिएर कंश कहाँ गई खबर गर्नुभयो । उता कंश पनि अष्टम् गर्भको प्रतिक्षामा थिए । कंश तुरुन्त आई बालिका खोस्न लागेपछि देवकीले बहुत बिन्ती गर्दा पनि छोड्दै छोडेनन् । बालिका खोसी शिलामा पछार्न लाग्दा कंशको हातबाट फुत्की आकाशमा गएर दिव्यस्वरुप लिई कंशलाई भन्न लागिन् “हे पापी कंश । तैले मलाई के मार्लास् । तेरो काल गोकुल पुगिसक्यो याद गर्नुहोस् । यति भनी उनी विन्ध्याचल पर्वतमा गई विन्ध्यवासिनी भएर बस्नुभयो । उता गोकुल गाऊ नन्दघरमा जय जय जयकार हुन थाल्यो । आज पनि घर–घरमा जय जय जयकार भइरहेको छ ।
अन्त्यमा श्री कृष्ण प्रकट महोत्सव तथा श्री कृष्ण जन्माष्टमीको सबैमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु । प्रेम प्रणाम ।

(ढकाल हेटौँडा–१६, हटिया प्रणामीनगरस्थित श्री कृष्ण प्रणामी मन्दिर गुरुधामको अध्यक्ष हुनुहुन्छ ।)