हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नागरिकहरुलाई सुशासनको प्रत्याभूति दिलाउनेगरी काम गर्न निर्देशन दिनुभएको छ । उहाँले विभागीय मन्त्री र मन्त्रालयका सचिवहरुलाई जिम्मेवार ढंगबाट काम गर्न तथा गुनासोरहित सेवा प्रवाहमा केन्द्रित हुन निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री लामाले बुधबार विभागीय मन्त्री र प्रमुख सचिवसँग कार्यसम्पादन करार सम्झौता गर्नुहुँदै सुशासनका विषयमा गम्भिर हुनुपर्ने बताउनुभयो । सुशासन र सेवा प्रवाहका विषयमा गुनासोरहित काम गर्न उहाँले विभागीय मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो । मुख्यमन्त्री लामाले नागरिकहरुको आवश्यकता र चाहनाअनुसार सहज सेवा तथा विकासका काम अघि बढाउन निर्देशित गर्नुभयो । उहाँले नागरिकको चरम निराशालाई सम्बोधन गर्न जिम्मेवार ढंगबाट कार्यसम्पादन गर्न र व्यवस्थापकीय विषयमा गम्भीर हुन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री लामाका अनुसार प्रदेश सरकार माथिको विविध चुनौतिको सामना गर्न सक्रिय रुपमा काम गर्नुपर्ने हुन्छ । पछिल्लो समय विभिन्न कोणबाट प्रदेश संरचनाको टिकाटिप्पणी भइरहेकाले त्यसलाई व्यवस्थापन गर्न गम्भीर हुन जरुरी रहेको उहाँले औल्याउनुभयो । वर्तमान व्यवस्थामा राज्यका स्रोतको उच्चतम् सदुपयोग गरी नागरिकहरुको सेवामा समर्पित हुनुपर्ने उहाँको भनाई छ । नागरिकहरुको नजिक रहेर सेवा प्रवाहसँगै विकास निर्माणको अघि बढाउनु पर्ने उहाँले बताउनुभयो । हरेक मन्त्रालयले देखिने प्रकारको काम गरेर नागरिकलाई प्रदेश सरकारका विषयमा रहेका भ्रम चिर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री लामाले कार्यसम्पादन मुल्यांकन पछि मन्त्रीहरुको मार्किङ हुने बताउनुभयो । कार्यसम्पादन मुल्यांकन अनुसार प्रदेश सरकारले मन्त्रीहरुको प्रगति समीक्षा गर्ने र सोही अनुसार अंक वितरण गर्ने उहाँको भनाई छ । हरेक ३/३ महिनामा प्रगति समिक्षा गरिने मुख्यमन्त्री लामाले जानकारी दिनुभएको छ ।