सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीसँग करार सम्झौतापत्र आदानप्रदान गर्नुहुँदै मुख्यमन्त्री बहादुर सिंह लामा ।

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विभागीय मन्त्री र प्रमुख सचिवसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ । बुधबार एक समाराहका बीच मुख्यमन्त्री लामाले विभागीय ११ मन्त्री र प्रमुख सचिवसँग कार्यसम्पादन करार गरेका हुन् ।

प्रदेश सुशासन कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि मन्त्रीहरुसँग सम्पादन गर्ने कार्यहरु र जिम्मेवारीका बारेमा करार सम्झौता गर्नुभएको हो । कार्यसम्पादन करार सम्झौतामा मन्त्रीहरुले चालु आवमा गर्नुपर्ने कामहरु, कार्ययोजना, समयसीमा, प्रक्रिया तथा कानुनी विषयहरु लगायत उल्लेख गरिएको छ ।

प्रदेशका १४ मन्त्रीमध्ये १ जना मन्त्री विशेष कारणवश अनुपस्थित र एक मन्त्रीको विभागीय जिम्मेवारी नभएकाले करार सम्झौता गर्न नसकेको प्रदेशका प्रमुख सचिव गोविन्द बहादुर कार्कीले जानकारी दिनुभयो । प्रमुख सचिव कार्कीले मुख्यमन्त्री र मन्त्रीबीचको कार्यसम्पादन सम्झौताले प्रदेश सरकारका कार्यक्रम र योजनाको प्रगतिको अनुगमन गर्न सहज हुने बताउनुभयो ।

उहाँका अनुसार कार्यसम्पादन सम्झौतापछि प्रदेश सरकारका कामलाई व्यवस्थित गर्न सहयोग पुग्नेछ । प्रदेशको विगतका अनुभवका आधारमा चालु आर्थिक वर्षको कार्यक्रम र बजेट कार्यान्वयनमा मन्त्रीहरुले विभागीय मन्त्रालयका सचिव र कर्मचारीहरुसँग करार सम्झौता गरेर कामलाई तीव्रता दिनुपर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री लामाले कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी, भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङ, संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरी, स्वास्थ्य मन्त्री किरण थापा, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्का, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, र वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालबीच कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र बिना विभागीय मन्त्री मदुकुमार श्रेष्ठसँग सम्झौता हुन बाँकी रहेको छ । मन्त्री महर्जन अस्वस्थताका कारण कारार सम्झौताका क्रममा उपस्थित हुन सक्नुभएन भने मनत्री श्रेष्ठले विभागीय जिम्मेवारी नपाउँदा करार सम्झौता गर्न पाउनुभएन ।