हेटौंडाः मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भदौ २७ गतेदेखि जिल्लास्तरीय रनिङशिल्ड अन्तर विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । हेटौंडा–११ स्थित थाना भर्याङको कभर्डहलमा भदौ २७ गतेदेखि २९ गतेसम्म यु–१३ र यु–१७ छात्र–छात्रा व्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।
जिल्ला व्याडमिन्टन संघको कार्यसमितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगितामा सहभागी हुनका लागि भदौ २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्नेछ । प्रतियोगिताको पुरस्कार राशिबारे पछि निर्णय गरिने संघका सदस्य नरेन्द्र मोक्तानले जानकारी दिनुभएको छ ।
व्याडमिन्टन खेलाडी तथा उद्यमी स्वर्गीय बीके बोसको स्मृतिमा पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताका लागि १ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।