हेटौंडाः आन्तरिक राजस्व कार्यालय हेटौंडाले चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । आइतबार साउन महिनाको राजस्व विवरण सार्वजनिक गर्दै कार्यालयले लक्ष्यभन्दा कम ७९ प्रतिशत राजस्व संकलन गरेको जनाएको हो ।
कार्यालयले साउन महिनामा ६ लाख ३२ सय ३५ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ लाख ७७ हजार २ सय ६४ रुपैयाँ संकलन गरेको छ । जसमा आयकर १ लाख २१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा ६४ हजार ४ सय ९४ रुपैयाँमात्र संकलन भएको छ । भाडाकर ९ सय ७८ रुपैयाँमात्र संकलन गरेको छ ।
यस्तै, अन्त शुल्क (आन्तरिक) तर्फ २ लाख ८३ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा २ लाख ६९ हजार ७ सय ११ रुपैयाँ संकलन भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) १ लाख ४३ हजार संकलन गर्ने लक्ष्य लिएकोमा ८१ हजार १ सय २५ रुपैयाँमात्र संकलन भएको छ । स्वास्थ्य सेवातर्फ ३२ हजार १ सय ८२ रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा ४७ हजार ६ सय २० रुपैयाँ संकलन गरेको छ ।