हेटौंडाः हेटौंडा–१ स्थित मकवानपुर सहकारी अस्पताल र पीडित परिवारबीच आन्तरिक सहमतिपछि परिवारले शव बुझेका छन् । आइतबार बेलुकासम्म भएको वार्तापछि दुई पक्षबीच सहमति जुटेको हो ।
आइतबार अस्पताल प्रशासन र डाक्टरको लापरबाहीका कारण हेटौंडा–१६ स्थित हटियाका १ वर्षीय बालकको मृत्यु भएपछि अस्पतालमा तनाव सिर्जना भएको थियो । बालकको मृत्यु भएपछि पीडित पक्षले प्रशासन र डाक्टरको लापरबाहीले आफ्नो बालकको मृत्यु भएको भन्दै शव बुझ्न मानेका थिएनन् । वार्तामा अस्पताल प्रशासनले व्यवस्थापनमा आफूहरुको केही कमजोरी भएको स्वीकार गरको छ । बिरामीलाई अस्पतालमा उपचारका क्रममा लागेको खर्च व्यहोर्न नपर्ने सहमति भएको जनाइएको छ ।
मृतक बालकका बुबा अनिल श्रेष्ठका अनुसार तीन दिन अगाडि शुक्रबार घरबाट ज्वरो आउनुको साथै मुखमा सानो घाउ आएपछि बालकलाई अस्पताल ल्याइएको थियो । अस्पतालले बिरामी बालकलाई आईसीयुमा राखेर ४–५ दिनपछि डिस्चार्ज गर्छु र अवस्था सामान्य भएको भनी भनेको थियो । उपचारका क्रममा डाक्टर तथा नर्सहरु समयमा औषधि चढाउन नआउने र बोलाउँदासमेत बेवास्ता गरेको उहाँको भनाइ छ । पीडित पक्षले डा. हरिबहादुर खड्काले लापरबाही गरेको आरोप लगाएका थिए ।