पक्राउ परेका पाख्रिनको तस्वीर ।

हेटौंडाः मकवानपुर प्रहरीले आफ्नै श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा कैलाश गाउँपालिकाका एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश–५ स्थित काफलडाँडाका २६ वर्षीय मंगलबहादुर पाख्रिन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक ओमप्रसाद पण्डितका अनुसार पाख्रिनले आइतबार दिउँसो २ बजेर ३० मिनेटको समयमा आफ्नो २० वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको हत्या गरेको खुलेको छ । पाख्रिनले श्रीमतीलाई बन्चरो प्रहार गरेर हत्या गरी घरभन्दा ४ सय मिटर पर कालिखोलास्थित सामुदायिक वनमा बोरामा हाली गाडेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो । उहाँका अनुसार शवलाई ११ टुक्रा बनाई दुई बोरामा हालेको पाइएको छ ।

सोमबार पाख्रिनले आफ्नो २० वर्षीय श्रीमती लक्ष्मी पाख्रिनको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएर घटनास्थललाई सुरक्षित राखिएको थियो । मंगलबार बिहानै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पण्डितको कमाण्डमा शवको मुचुल्कासहित प्रहरी टोली खटिएर अनुसन्धान गरेको थियो । प्रहरीले घटनास्थलमा हत्यामा प्रयोग भएका धारिलो बन्चरो र कपडाहरु पनि बरामद गरेको छ ।

प्रहरीले पाख्रिनलाई मंगलबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतको राखेको छ । पाख्रिनमाथि बुधबार जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो ।

पाख्रिनविरुद्ध मृतक लक्ष्मीकी बुबा हस्तबहादुर थिङले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गरेका छन् । पाख्रिन दम्पती एक वर्षीया छोरीसहित उक्त घरमा बस्दै आइरहेका थिए ।

स्थानीयका अनुसार पक्राउ परेका पाख्रिन यसअघि सुधार केन्द्रमा बसेर आएका हुन् । तर, त्यसको कुनै प्रमाण भने नरहेको र प्रहरीले उक्त रेकर्ड माग गरेको निरीक्षक पण्डितले बताउनुभयो । पाख्रिनले मानसिक रोगका औषधी सेवन गरिरहेको भने पनि प्रहरीले भने कुनै औषधी फेला नपारेको उहाँले बताउनुभयो ।