हेटौँडाः माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) २०८० को ग्रेडवृद्धि (पूरक) परीक्षा बुधबारदेखि सुरु भएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा ९४ जना विद्यार्थी अनुपस्थित भएका छन् । अनिवार्य अंग्रेजीको ग्रेडवृद्धि परीक्षाका लागि मकवानपुर जिल्लाबाट एक हजार ६ सय ४ जना विद्यार्थीले फारम भरेकोमा एक हजार ५ सय १० जना विद्यार्थी परीक्षामा उपस्थित भएको परीक्षा फोकल पर्सन सरला अधिकारीले जानकारी दिनुभयो । बुधबारदेखि ३१ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ ।

आज बिहीबार नेपाली विषयको परीक्षा हुने जनाइएको छ । जिल्लामा मौका परीक्षाका लागि ८ वटा केन्द्र तोकिएको छ । मौका परीक्षाका लागि जिल्लाको हेटौँडा उपमहानगरपालिकामा ५ वटा, थाहा नगरपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकमा एक–एक वटा परीक्षा केन्द्र तोकिएको छ ।

हेटौँडा उपमहानगरपालिकाको श्रमिक माध्यमिक विद्यालय, सिद्धार्थ माध्यमिक विद्यालय, भूटनदेवी माध्यमिक विद्यालय, बालजागृति इङ्गलिस बोर्डिङ स्कूल र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा केन्द्र तोकिएको हो । यस्तै, बकैयाको बुद्ध माध्यमिक विद्यालय हात्तीसुँडे, मनहरी गाउँपालिकाको राष्ट्रिय रोटरी माध्यमिक विद्यालय मनहरी र थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालय पालुङमा केन्द्र तोकिएको छ ।

हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा परीक्षा दिँदै विद्यार्थी ।