हेटौँडाः सवारी साधन सुरक्षाजाँच गर्ने क्रममा सिन्धुलीमा भारतीय नागरिकले ट्राफिक प्रहरीलाई नै नियन्त्रणमा लिएका छन् । सिन्धुलीको हिरापानी भन्ने स्थानमा नियमित सुरक्षाजाँच चलिरहेका बेला भारतीय सवारीमा आएका ५ जनाले सुरक्षाजाँचका क्रममा अटेर गर्दै ट्राफिक प्रहरीलाई नै नियन्त्रणमा लिएका हुन् ।
राजमार्ग क्षेत्रमा नियमित रुपमा हुने सुरक्षाजाँचका क्रममा भारतीय गाडीमा आएका ५ जनाले ड्युटीमा खटिएका सहायक प्रहरी हवल्दार सन्तोष नारायण दासलाई नियन्त्रणमा लिएका थिए । गत साउन १२ गते कमलामाई नगरपालिका–४ हिरापानी चेकपोष्टमा खटिएका दासलाई भारतीय नागरिकहरुले नियन्त्रणमा लिएर गाडी भित्र हालेर हिँडेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार डुग्रेबास प्रहरी चौकीबाट टोली खटिई नियमित रुपमा २४ घण्टा सो स्थानमा सुरक्षाजाँच हुने गर्दछ ।
सोही क्रममा साउन १२ मा धार्मिकस्थल दर्शन गर्न निलो रंगको बिआर–२२–एपी ७३२१ नम्बरमा आएका ५ जनालाई सुरक्षाजाँच गर्ने क्रममा दासलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । सिन्धुलीको चियाबारी नजिकै रहेको सुरक्षाजाँच स्थलमा सो गाडीमा आएका ६ जना भारतीयले चालकको बायाँतर्फको झ्यालबाट प्रहरी सहायक हवल्दार दासलाई जवरजस्ती भित्र तानेका थिए ।
सुरक्षाजाँचको सुरुवातदेखि नै शंकास्पद हर्कत गरी रहेका उनीहरुले मादक पदार्थ सेवन गरी प्रहरीलाई कागजपत्र नदिने, जिस्कने, हेप्ने जस्ता क्रियाकलाप गरिरहेका थिए । मापसे जाँच गरिरहेका दासलाई गाडी भित्र हालेर उनीहरु भागेका थिए । सुरक्षाजाँचस्थलमा रहेका अन्य प्रहरीले घटना देखेपछि गाडी रोक्ने प्रयास गरेपनि उनीहरु भागेका थिए । सो लगत्तै सुरक्षाजाँचस्थलमा रहेका अन्य प्रहरीले मोटरसाइकलमा पिछा गरेर विपरित दिशाबाट आएको सवारीको मद्दतबाट उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।
सुरक्षाजाँचस्थलभन्दा ३०० मिटर अगाडिबाट गाडीसहित ५ जना भारतीयलाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक काफ्लेका अनुसार दासलाई जवरजस्ती गाडीमा राखेर लाने भारत सितामढी सरखण्डका २५ वर्षीय मुकेश कुमार, बथनाहका ३८ वर्षीय दिलिप कुमार, समस्तीपुरका ३५ वर्षीय अविनाश कुमार, सितामाढी नस्लपुरका ४२ वर्षीय रामानन्द प्रसाद र सितामढी सुरखण्डका ३४ वर्षीय आनन्द प्रकाशलाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ गरिएका उनीहरुलाई अपहरण तथा शरीर बन्दकको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभएको छ ।