हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा खेलकुद महोत्सव गर्ने योजना बनाइएको छ । पालिका खेलकुद विकास समितिले चालु आर्थिक वर्ष २०८१/८२ मा खेलकुद महोत्सव गर्ने योजना बनाएको हो ।

साउन मसान्तसम्म गाउँपालिकासँग प्रस्ताव गरेर गाउँपालिकाको निर्णयअनुसार महोत्सव गर्ने पालिका खेलकुद विकास समितिका अध्यक्ष बीरु लामा थिङले जानकारी दिनुभयो ।

गाउँपालिकासँग महोत्वसका लागि प्रस्ताव गरेर महोत्सव आयोजनाका लागि बजेट प्राप्त भएमा खेलकुद महोत्सवको आयोजना गरिने उहाँले बताउनुभयो । महोत्वसका लागि ४० लाख रुपैयाँ बढी बजेट लाग्न सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । खेलाडीहरुको रुचिलाई मध्यनजर गरेर खेलकुदप्रति आकर्षण बढाउनका लागि फरक ढंगबाट खेलकुद महोत्सवको आयोजना गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

अध्यक्ष थिङका अनुसार खेलकुदको रुचिअनुसार क्रिकेट, भलिबल, कराँतेलगायतका खेलहरु खेलाइनेछ । गाउँपालिकामा कराँते खेलका लागि एउटामात्र डोजो भएकोले महोत्सवमा हुने कराँते प्रतियोगितामा अन्य पालिकाका डोजोका खेलाडीहरुलाई सहभागी गराएर प्रतियोगिताको आयोजना गरिने उहाँले बताउनुभयो ।

यसअघि मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले खेलकुद तथा व्यापार महोत्सव आयोजना गरेकोमा अब मनहरी गाउँपालिकाको खेलकुद विकास समितिले आयोजना गर्ने योजना बनाएको हो । गाउँपालिकामा वार्षिकरुपमा आयोजना हुने गरेको अध्यक्ष कप फुटबल प्रतियोगिता र उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको पनि आयोजना गर्ने योजना बनाइएको छ । दुबै प्रतियोगिताहरुमा गाउँपालिकाका १ देखि ९ नम्बर वडाका खेलाडीहरुको सहभागिता रहनेछ ।

प्रतियोगितामा गाउँपालिकाका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने उहाँले बताउनुभयो । प्रतियोगितामा राष्ट्रियस्तरको खेलहरुमा सहभागी भएका राष्ट्रिय खेलाडीहरुले सहभागिता जनाउन नपाइने उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागी हुनका लागि पालिकाका खेलाडीहरु हुनुपर्नेछ । अध्यक्ष र उपाध्यक्षसँगको परामर्शमा खेलकुद विकास समितिलाई बजेट विनियोजन भएपछि प्रतियोगिता अयोजना गरिने अध्यक्ष थिङले बताउनुभयो ।

गत वर्षको वडाध्यक्ष कप फुटबल प्रतियोगिता र उपाध्यक्ष कप भलिबल प्रतियोगितामा करिब १६ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो । अन्य गाउँपालिकाहरुको ५० लाख रुपैयाँसम्मको बजेट प्राप्त भएमा व्यापार महोत्सवको आयोजना नगरेर राष्ट्रियस्तरको गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्न सकिने उहाँले बताउनुभयो । गाउँपालिकाबाट एउटामात्र स्थानीय टिमलाई सहभागी गराएर अन्य बाहिरी जिल्लाको ‘ए’ डिभिजनका टिमहरुलाई सहभागी गराएर राष्ट्रिय गोल्डकप पनि गर्न सकिने बताइएको छ ।

बाहिरी जिल्लाका अन्य ठाउँका खेलाडीहरुबीच भातृत्व एव्म सुमधुर सम्बन्धको स्थापना गराउनका लागि, खेलको महत्वबारे बुझाउनका लागि, अनुशासन कायम गराउनका लागि प्रतियोगिता गर्ने योजना बनाइएको हो । प्रतियोगिताको उपाधि विजेताका लागि ५ लाख रुपैयाँसम्मको पुरस्कार राशिको व्यवस्था गरेर बजेट विनियोजन भएमा प्रतियोगिता आयोजना गर्न सकिने उहाँले जानकारी दिनुभयो ।