प्रदेश सभा बैठकमा सहभागी प्रदेश सभा सदस्यहरु । फाइल तस्वीर ।

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ मा विश्वासको मत लिनुहुने भएको छ । एमाले–कांग्रेस गठबन्धनबाट प्रदेश सरकारको नेतृत्व गर्नुभएका मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई जानकारी गराउनुभएसँगै प्रदेश सभाका सभामुखले बैठक आव्हान गर्नुभएको हो ।

साउन ८ मा मुख्यमन्त्री नियुक्त हुनुभएका लामाले ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराउनुभएको हो । उहाँको पत्र अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद बैठक आव्हान गर्नुभएको छ । मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

साउन १२ मा एक बिना विभागीय मन्त्रीसहित सरकारलाई पूर्णता दिनुभएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ प्रदेश सभा सदस्य गरी ६४ जनाको समर्थन रहेको छ । पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिनुभएका लामाले एमालेका ६ र कांग्रेसका ६ जनालाई मन्त्री नियुक्त गर्नुभएको छ ।