हेटौँडाः हेटौँडा–काठमाडौं जोड्ने २ सडक पहिरोका कारण अवरुद्ध भएका छन् । पहिरोका कारण कान्ति लोकपथ र भैंसे भिमफेदि काठमाडौं सडक अवरुद्ध भएका हुन् ।
अविरल वर्षाका कारण कान्ति लोकपथ सडक खण्डको ६ स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । शनिबार राती १२ः४५ बजेको समयमा भीमफेदी–८ कालो पहिरो, बकैया–१२ माने घुम्ती, ठिंगन बजार, चौताराभिर, बकैया–११ आलेगाँउ, खोरभन्ज्याङस्थित सडकमा माथिबाट पहिरो खस्दा बाटो पूर्णरुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको र बाटो संचालनमा ल्याउन ३ घण्टा समय लाग्ने प्रहरीको भनाइ छ । त्यस्तै पहिरोका कारण भैंसे भीमफेदी काठमाडौं सडक खण्ड अवरुद्ध भएको छ । शनिबार राती ११ः५० बजेको समयमा भीमफेदी–४, रातोमाटेमा माथिबाट पहिरो खस्दा बाटो पूर्णरुपमा अवरोध भएको छ । उक्त पहिरो पन्छाउन केही घण्टा समय लाग्ने प्रहरीले जनाएको छ ।