पिप्ले युवा क्लबको यु–१५ टिम ।

हेटौंडाः हेटौँडामा शनिबार बिहान १५ वर्ष भन्दा कम उमेर समूहको मैत्रीपूर्ण फुटबल खेल भएको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा पिप्ले युवा क्लब र नागस्वती युवा क्लबको यु–१५ टिम बीच मैत्रीपूर्ण खेल भएको हो ।

मैत्रीपूर्ण खेलमा नागस्वती युवा क्लब विजयी भएको छ । नागस्वतीले घरेलु टोली पिप्ले युवा क्लबलाई ४–२ गोलअन्तरले पराजित गरेको हो । पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरेका अनुसार दुई क्लबबीच मैत्रीपूर्ण अभ्यास खेल भएको हो । अध्यक्ष घिमिरेले क्लबले भदौ महिनापछि उमेर समुहका प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । अहिले क्लबसँग यु–१३ र यु–१५ का गरी दुई किशोर समूहका खेलाडीहरु रहेका छन् । अहिले क्लबलाई बाहिर जिल्लामा मैत्रीपूर्ण खेल खेल्नका लागि निमन्त्रणा आइरहेको पनि उहाँले बताउनुभयो ।