नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामा

हेटौंडाः बागमती प्रदेशमा आफ्नै नेतृत्वमा गठन हुँदै गरेको सरकारमा सहभागी हुने मन्त्री छनोटको विषयलाई लिएर कांग्रेसभित्र चरम असन्तुष्टि देखिएको छ । कांग्रेसको केन्द्रबाट प्राप्त निर्देशनअनुसार मन्त्री नियुक्त नगरिएको भन्दै असन्तुष्टि व्यक्त भएको हो ।

बुधबार संसदीय दलका नेता बहादुर सिं लामाको नेतृत्वमा एमालेसँग गठबन्धन गरेर सरकार निर्माण गरेको कांग्रेसले ६ मन्त्री नियुक्त गर्ने तयारी गरेको थियो । तर, मन्त्री बन्नेहरुको लर्को लाग्दा कांग्रेसले सरकारलाई पूर्णता दिन सकेन । मन्त्री छान्न ३ दिनदेखि कसरत गरेको कांग्रेस सफल हुन सकेन । भागबण्डामा पाएको ६ मन्त्रालयका लागि ३ दिनदेखि कसरत गरेको कांग्रेसबाट मन्त्री छान्न सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र प्रवक्ता प्रकाश शरण महत खटिएका थिए । दुबैले केन्द्रको निर्देशनअनुसार मन्त्री छान्ने काम गरिरहेका थिए । तर, उनीहरुको काम सार्थक बनेन । जसका कारण कांग्रेस हेडक्वार्टर बुढानिलकण्ठको सिफारिसमा परेका प्रदेश सभा सदस्यसमेत मन्त्रीको लिष्टमा अटाएनन् । सोही कारण कांग्रेस नेता लामा नेतृत्वको सरकारले पूर्णता पाउन सकेन ।

डिना र महतले केही प्रदेश सभा सदस्यहरुलाई फोन गरेर मन्त्री बन्न हेटौंडा बोलाएका थिए । पुरुषलाई दौरा सुरुवाल र महिलालाई साडीमा सजिएर आउन उनीहरुको निर्देशन थियो । आवश्यक मन्त्रीभन्दा बढी प्रदेश सभा सदस्यहरुलाई उनीहरुले निमन्त्रणा गरेका थिए । सबै हेटौंडा आए तर, मन्त्री बन्न पाएनन् ।

के के भयो सपथग्रहणमा ?
बुधबार विहान ११ः११ बजे सपथग्रहण गर्ने समय तालिका रहेकोमा कांग्रेसबाट विहान १० बजेसम्म पनि मन्त्रीको सूचि तयार भएको थिएन । डिना र महतले तयार गरेको मन्त्रीको सूचिअनुसार अघि बढ्न समस्या भएपछि कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यहरु रुष्ट बनेका थिए । मन्त्री नियुक्तिको विषयलाई लिएर विवाद हुने र सपथग्रहणको समयमा समस्या हुने देखिएपछि कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सहजीकरण गरिरहनुभएको थियो ।

कांग्रेसको लाज ढाक्न मन्त्री पक्का गरिएका २ जनालाई सपथग्रहण गराउने तयारी बानियाँको थियो । तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पत्र भने प्रदेश प्रमुख कार्यालय पुगेको थियो । प्रदेश प्रमुख कार्यालय परिसरमा आयोजित मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथग्रहण समारोहमा मुख्यमन्त्रीको सपथ सकियो । तर, कांग्रेसका मन्त्रीको नाम तयार नहुँदा मन्त्रीहरुको सपथ रोकियो । मुख्यमन्त्रीको सपथपछि केही बेर आगन्तुकहरुलाई बस्न आग्रह गरिएको थियो ।

करिब १५ मिनेटपछि कांग्रेसका ३ र एमालेका ६ मन्त्रीको सपथग्रहण कार्यक्रम हुने निश्चित भयो । बिना विभागीय २ मन्त्रीलाई सपथग्रहण गराउने तयारी गरेको कांग्रेसमा अर्का एक मन्त्री थपिए । मन्त्री छान्नेको कमजोरीका कारण अस्तव्यस्त तवरमा मन्त्रीहरुको सपथ भएको थियो । १५ मिनेटको अवधिमा मुख्यमन्त्री कार्यालयबाट मन्त्री नियुक्तिको पत्र प्रदेश प्रमुखसमक्ष पु¥याएर कांग्रेसका कुन्दनराज काफ्ले, श्यामबहादुर खड्का र मदुकुमार श्रेष्ठले विभागीय जिम्मेवारीविहीन भएर मन्त्रीको सपथग्रहण गरे ।

उनीहरुसँगै एमालेका प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित सपथग्रहण गरेका थिए ।

देउवाको लिष्टमा डिना र महतको कैची
मन्त्री छनौटका लागि सक्रिय बनेका सहमहामन्त्री डिना र प्रवक्ता महतले पार्टी सभापतिले सिफारिस गरेका प्रदेश सभा सदस्यकै नाम काटेका थिए । देउवाले पठाएको मन्त्रीको लिष्टमा डिना र महतले चलखेल गर्दा मन्त्रिपरिषद् नै गोलमाल भएको थियो ।

मुख्यमन्त्री लामासँगै प्रदेशका १२ मन्त्रीहरूले शपथग्रहण गर्ने तयारी गरिएको भएपनि डिना र महतले आफूहरु निकट प्रदेश सभा सदस्यलाई प्राथमिकता दिँदा समस्या भएको हो । कांग्रेसबाट मन्त्री छान्न सहमहामन्त्री डिना र प्रवक्ता महतले मंगलबार राति एक होटलमा बसेर काम गरेका थिए । मंगलबार राति अबेरसम्म छलफल गरेर मन्त्रीको सूचि तयार पारिएको पनि थियो । राति १० बजे मुख्यमन्त्री लामालाई मन्त्री बन्नेहरुको सूचि तयार भएको बताएका थिए । बुधबार बिहानै काठमाडौं फर्केका महतको सहमतिमा तयार गरेको सूचिमा पुनः डिनाले चलखेल गरेको कांग्रेस संसदीय दलका एक सदस्यले बताए ।

मंगलबार राति कुन्दनराज काफ्ले, सुरेश श्रेष्ठ, श्याम खड्का, विमल ठकुरी, मिनकृष्ण महर्जनको नाम मन्त्रीका लागि छनौट गरिएको थियो । समिता खड्गी, उर्मिला नेपाल, विनु रायमाझी र हरिप्रभा खड्गीका विषयमा भने केही समस्या देखिएको थियो । सो विषय मिलाउने गरी मन्त्री छनौट गरिएको ती सांसदले बताए । बुधबार विहान पुनः मन्त्रीको सूचिमा केही फेरबदल भएको उनले बताए । विहान मिनकृष्ण महर्जनको नाम हटाएर एकाएक मदुकुमार श्रेष्ठको नाम प्रवेश गराइएको थियो भने सुरेश श्रेष्ठको नाम हटाएर प्रभात तामाङलाई मन्त्री बनाउने तयारी थियो ।

समिता खड्गी र उर्मिला नेपालबिच भने दुई नेताले सहमति जुटाएका थिएनन् । यद्यपि डिनाको जोडबलमा समिता मन्त्री बन्ने पक्का थियो । महतले आफ्नो कोटामा ६ मध्ये २ मन्त्री बनाउन खोजेका थिए भने डिनाले २ मन्त्री बनाउने तयारी गरेका थिए । महतले उर्मिला नेपाल, श्याम खड्कालाई मन्त्री बनाउने कसरत गरेका थिए भने डिनाले समिता खड्गी र मदुकुमार श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेकी थिएन् । दुई नेताले आफूअनुकूल मन्त्री छनौट गर्दा सभापति देउवाको सिफारिसमा परेका विमल ठकुरी, आरजु देउवाको सिफारिसमा परेकी विनु रायमाझी र गगन थापाको सिफारिसमा परेका सुरेश श्रेष्ठ मन्त्री बन्न पाएनन् । सभापति बानियाँको कोटामा मन्त्री बन्न दौरा सुरुवालमा सजिएका मिनकृष्ण महर्जन पनि मन्त्री बन्न पाएनन् ।

तामाङ समुदायबाट पहिलो मन्त्री बनेका कांग्रेसका नेता लामाको क्याबिनेटमा दलित र पिछडिएको वर्गले मन्त्री नपाउने भएको छ । दुबै दलले जनजाति समुदायबाट मन्त्री समेटे पनि दलित र पिछडिएको वर्ग भने मन्त्रिपरिषद्मा समेट्न सकेन । केन्द्रीय सरकारमा पनि दलित समुदाय मन्त्रीमा नसिमेटिएको अवस्थामा प्रदेशमा भने मन्त्री बनाउने चर्चा चुलिएको थियो । कांग्रेस–एमालेबाट एक जना दलित र पिछडिएको क्षेत्रबाट मन्त्री बन्ने तर्क नेताहरुको थियो । तर, मन्त्री छनौटमा दुबै दलले समावेशीतालाई त्यति चासो देखाएनन् । दलहरुको चासोमा नपर्दा मन्त्रीको सूचिमा रहेका दलित समुदायबाट निर्वाचित प्रदेश सभा सदस्यहरु पनि रित्तो हुन परेको छ ।

सन्तुलन मिलाउन सकिएनः मुख्यमन्त्री लामा
मुख्यमन्त्री लामाले मन्त्री छनौटमा सन्तुलन कायम गर्न नसकेको बताउनुभयो । केही प्राविधिक समस्या र असमझदारीका कारण बुधबार नै मन्त्री छनौट गरेर सरकारलाई पूर्णता दिन नसकेको उहाँले बताउनुभयो ।

मन्त्रिपरिषद्लाई केही दिनमा नै पूर्णता दिने बताउँदै मुख्यमन्त्री लामाले सबै क्षेत्रलाई समेट््ने प्रयत्न हुने बताउनुभयो । कांग्रेसले हरेक समुदाय र वर्गको सम्मान हुनेगरी सरकारमा मन्त्री पठाउने उहाँको भनाइ छ । मुख्यमन्त्री बनेकै दिन निर्णायक क्षमतामा कमजोर देखिनुभएका मुख्यमन्त्री लामाले सबै पक्षसँगको सहकार्यमा सरकारले पूर्णता पाउने बताउनुभयो । उहाँका अनुसार व्यक्तिको निर्णायक क्षमताभन्दा पनि सन्तुलित समीकरण र समावेशीताको विषयलाई गम्भिरताका साथ लिएको छु ।

‘निर्णायक माथि क्षमता कमजोर होइन । हामीले निर्णय गर्न लागेका पनि छौं । निर्णयमा कुनै प्रकारको कमी कमजोरी नहोस् भन्ने हाम्रो चाहना हो । यो एउटा बाध्यात्मक परिस्थितिका कारण आजको घटना भयो । हामी ढिलै भएपनि राम्रो हुनुपर्छ भन्ने हुन्छ । काँग्रेसभित्रको मन्त्रीहरु त्यस्तो टुंग्याउन समस्या छैन । हामीले समन्वय गर्नुपर्ने भएकाले अलिकति समय लागेको हो ।’ उहाँले भन्नुभयो ।