बागमती प्रदेश सरकारमा एमालेबाट स्नात्तकोत्तर तह उत्तीर्ण गरेकादेखि माध्यमिक तहसम्म अध्ययन गरेकालाई मन्त्री बनाउँदै छ । एमालेले समानुपातिक कोटामा सांसद बन्नुभएकी सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउँदैछ । उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी दिने तयारी गरिएकी तामाङ सिन्धुलीको दुधौली नगरपालिका ९ स्थानीय हुनुहुन्छ । माध्यमिक तह (+२) सम्मको अध्ययन पूरा गर्नुभएकी उहाँ पहिलो पटक मन्त्री बन्दै हुनुहुन्छ ।
एमालेले स्नात्तकोत्तर उत्तीर्ण ललितपुरका प्रेमभक्त महर्जनलाई पनि मन्त्री बनाउँदैछ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने तयारीमा रहनुभएका महर्जन ललितपुर ३ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । ललितपुर महानगरपालिका वडा नम्बर–२२ निवासी महर्जन पहिलो पटक मन्त्री बन्दै हुनुहुन्छ ।
एमालेबाट कृषि तथा पशुपन्छी मन्त्री बन्ने तयारीमा रहनुभएका प्रकाश श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र ७ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । अघिल्लो कार्यकालमा पनि सोही क्षेत्रबाट निर्वाचित श्रेष्ठ काठमाडौं नागार्जुन नगरपालिका–३ निवासी हुनुहुन्छ । स्नातक तहसम्मको अध्ययन गर्नुभएका श्रेष्ठ दोस्रो कार्यकालका लागि मन्त्री बन्दै हुनुहुन्छ । यसअघि शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा श्रेष्ठ उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री हुनुहुन्थ्यो ।
एमालेबाट मन्त्री बन्न लाग्नुभएका किरण थापा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउँदै गर्नुभएका भक्तपुर सूर्यविनायक नगरपालिका–८ शिपाडोलका थापाले प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएको छ । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने तयारीमा रहनुभएका कृष्णप्रसाद सिलवालले चितवन निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेश सभा हुनुहुन्छ । चितवन इच्छाकामना गाउँपालिका–५, मुग्लिनका सिलवालले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । उहाँ पहिलो पटक मन्त्री बन्दै हुनुहुन्छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ (ख) बाट निर्वाचित अमन कुमार मास्केलाई एमालेले पहिलो पटक मन्त्री बनाउँदैछ । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुहुने मास्के काठमाडौं तारकेश्वर नगरपालिका–७ फुटुङ निवासी हुनुहुन्छ । आर्किटेक्चर इन्जिनियर मास्केले स्नात्तकोत्तर, एमफीलसम्मको अध्ययन पूरा गर्नुभएको छ ।