हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई एमालेले विश्वासको मत नदिने भएको छ । नेकपा एमाले संसदीय दल बागमती प्रदेशको शनिबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने र विपक्षमा मत गर्ने निर्णय गरेको हो ।
एमालेले आफ्ना सांसदहरुलाई मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । एमालेले आफ्ना सांसदहरुलाई आइतबारको प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुने र विपक्षमा मत हाल्न ह्वीप जारी गरेको संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेलले बताउनुभयो ।
सत्ता समिकरण परिवर्तनपछि मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिँदैहुनुहुन्छ । गत असार १७ मा केन्द्रीय तहमा एमाले कांग्रेस सत्ता समिकरणको सहमती बनेसंगै मुख्यमन्त्री जम्कट्टेल माथि संकट देखिएको थियो । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्कट्टेल नेतृत्वको सरकारबाट असार २४ मा एमालेले समर्थन फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिँदै ५ मन्त्रीको सामुहिक राजिनामा गराएसंगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा पर्नुभएको थियो ।