हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित हेटौंडा सिटी कलेजले ५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । कलेजले ५ नम्बर वडाभित्रका गरिब, जेहेन्दार र अति विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
पिप्ले युवा क्लबसँगको औपचारिक सहकार्यमा सामाजिक, व्यावसायिक उत्तरदायित्वअन्तर्गत आफ्नै वडामा रहेका गरिब, विपन्न र जेहेन्दार ५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको कलेजका प्रशासन प्रमुख सुमन्त सिलवालले जानकारी दिनुभएको छ । कक्षा–१२ मा विभिन्न संकायमा पढ्न चाहेर पनि पढ्ने अवस्था नभएका विद्यार्थीहरुलाई विशेषरुपमा प्राथमिकतामा राखेर पिप्ले युवा क्लबको अनुरोधअनुरुप छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको प्रशासन प्रमुख सिलवालले बताउनुभयो ।
कलेजले हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाका २ जना छात्र र २ जना छात्रा गरी ४ जना जेहेन्दार विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गर्ने प्रशासन प्रमुख सिलवालले बताउनुभयो । कलेज र क्लबले विभिन्न सामाजिक कार्यहरुमा पनि सहकार्य गर्दै आएको र विभिन्न कामहरु काम गरिरहेको उहाँले बताउनुभयो ।
स्नातक तहमा कलेजमा आईटीसम्बन्धी त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा बिएससी सिएसआईटी र बिसीए पढाइ हुने गरेको उहाँले बताउनुभयो । यस्तै, कक्षा ११, १२ मा विज्ञान संकाय, व्यवस्थापन संकाय, होटल म्यानेजमेन्ट, विजनेस स्टडी, टुरिजम एण्ड माउन्टेनरिङ, कानुन संकायका विषय पढाइ हुने गरेको छ ।