हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ल्याएको बजेट पारित भएको छ । आइतबार भएको गाउँसभामा वडा नम्बर ५ का वडाध्यक्ष एवम् कार्यपालिकाका सदस्य विजयकुमार भोलनले ७० करोड ५३ लाख ८५ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएकोमा बहुमतले पारित भएको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा भन्दा बजेट बढाएर ल्याएको हो । गाउँपालिकाले चालु आर्थिक वर्षमा ६८ करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो । गाउँपालिकाले चालु आर्थिक वर्षको पूर्वाधार विकासतर्फको भुक्तानी हुन बाँकी योजनाहरुका लागि ३ करोड ३९ लाख ९६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासतर्फ ३ करोड २३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

पालिकाले डिजेल तथा पेट्रोल खरिदका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ । पालिकाले आर्थिक विकासका लागि ५ करोड ४३ लाख ५० हजार विनियोजन गरेको छ । पालिकाले क्रसर उद्योग सञ्चालनका लागि ५ करोड ४१ लाख रुपैयाँ विनियोजन गरेको छ । वडा नम्बर ५ स्थित कोइरालमा सञ्चालन गरिने क्रसर उद्योगको ठेक्कासमेत भइसकेको जनाएको छ ।

यस्तै, कृषि विकासतर्फ ८६ लाख रुपैयाँ र पशु विकासतर्फ ३ करोड ५२ लाख रुपैयाँ विनियोजन गरेको छ । पालिकाले बिउपुँजी कार्यक्रमका लागि २ करोड ६८ लाख रुपैयाँ, दुग्ध चिस्यान केन्द्र थपका लागि ३६ लाख, कृषक पशुपालन तालिमका लागि २ लाख, पशु खोप कार्यक्रमका लागि ३ लाख र ५० प्रतिशत अनुुदानमा च्यापकटर वितरणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका लागि ६३ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । उक्त समितिअन्तर्गत स्थानीय विपद् व्यवस्थापन कोषका लागि १० लाख र विपद्मा परेकाहरुलाई आर्थिक सहयोग गर्न ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सामाजिक विकासतर्फ शिक्षा, युवा तथा खेलकुदमा ४ करोड ३ लाख र खानेपानीका लागि ४६ लाख रुपैयाँ गरी ५ करोड ५३ लाख रुपैयाँ विनियोजन गरेको छ । जसअन्तर्गत गाउँपालिका अनुदान शिक्षक तलब र पोशाक भत्ताका लागि १ करोड ११ लाख, प्रारम्भिक बालविकास केन्द्र तथा विद्यालय कर्मचारी थप तलब भत्ताका लागि ९७ लाख र स्थानीय पाठ्यपुस्तक निर्माण र छपाइका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, प्रतिविद्यार्थीको आधारमा विद्यालयलाई अनुदानमा ३५ लाख र सातौँ बागमती गोल्डकप सञ्चालनका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै, सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ १० करोड ८० लाख ४७ हजार विनियोजन गरेको छ । जसअन्तर्गत गाउँपालिकाका स्थायी कर्मचारीहरुको तलब भत्ताबापतको खर्चका लागि र गाउँपालिकातर्फ करार सेवामा कार्यरत प्राविधिक तथा अप्राविधिक कर्मचारीहरुको तबल भत्ताको लागि २–२ करोड बजेट विनियोजन गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र तथा सामुदायिक स्वास्थ्य इकाईमा करार सेवामा कार्यरत कर्मचारीको तलब भत्ताका लागि १ करोड, पोशाक खर्चका लागि १५ लाख, पदाधिकारी बैठक भत्ताका लागि १५ लाख र सवारी साधन ममर्त खर्चका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

असार १० गतेसम्ममा स्थानीय तहहरुले बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि विवादपछि बागमतीले ढिलो बजेट ल्याएको हो । गाउँपालिकाले असार १० गते नीति, योजना तथा कार्यक्रमसँगै आगामी आर्थिक वर्षको लागि बजेट ल्याउने तयारी गरे पनि बजेट भने ल्याउन सकेको थिएन । पालिकाका उपाध्यक्ष, केही वडाध्यक्ष र गाउँसभाका सदस्यहरुले बजेटप्रति असन्तुष्टि जनाउँदै गाउँसभा बहिस्कार गर्दै पालिकाकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अदालतमा उत्प्रेषण परमादेश मुद्दा दायर गर्नुभएको थियो । तर, अदालतले उक्त मुदामा अन्तरिम आदेश जारी नहुने फैसला गरेसँगै बजेट ल्याउने बाटो खुलेको थियो ।

गाउँपालिकाको वित्तीय प्रगति ८३ प्रतिशत

गाउँपालिकाले चालु आर्थिक वर्षमा ८३.७८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालुतर्फ ४४ करोड ४९ लाख ९४ हजार रुपैयाँ विनियोजन भएकोमा ३८ करोड ८३ लाख २७ हजार ७ सय ५० रुपैयाँ खर्च गरेको छ । यस्तै, पुँजीगतर्फ २४ करोड ५ लाख ९२ हजार रुपैयाँ विनियोजन गरेकोमा १८ करोड ६० लाख २८ हजार ९ सय १२ रुपैयाँ खर्च भएको छ ।

गाउँपालिकाका अध्यक्ष सर्केश घलानको सभाध्यक्षतामा भएको गाउँसभाको १२ औं अधिवेशनमा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य खड्कबहादुर पुलामी र पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानलगायतको उपस्थिति रहेको थियो ।