प्रमाणपत्र वितरण पश्चात सामूहिक तस्वीर खिचाउँदै नवनिर्वाचित पद्धाधिकारीहरु।

हेटौंडाः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरको २३ औं सम्मेलनबाट नवनिर्वाचित पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । बिहीबार नेकपा माओवादी केन्द्रको जिल्ला पाटी कार्यलयमा भएको कार्यक्रममा गत असार १४ गतेको सम्मेलनबाट निर्विरोध चयन भएका जिल्ला कमिटीका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

प्रमाणपत्र वितरणपश्चात् जिल्ला समितिको प्रथम बैठकसमेत सम्पन्न भएको छ । प्रमाणपत्र वितरण तथा बैठकमा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिनको प्रमुख आतिथ्य रहेको थियो । अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षतामा भएको बैठकले संगठनको नियमित गतिविधि र आगामी कार्ययोजना तयार गर्ने निर्णय गरेको जानकारी कोषाध्यक्ष अनिल बसेलले बताउनुभयो ।

कार्यक्रममा पार्टी जिल्ला सचिव बीरबहादुर घलान ज्वाला, प्रदेश कमिटी सचिवालय सदस्य एवम् विद्यार्थी फ्र्याक्सन इञ्चार्ज ललित घलान, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटीका सदस्य विवेक राई, प्रदेश कमिटी सचिवालय सदस्य शुभरत्न गोले, अखिल क्रान्तिकारी केन्द्रीय उप–महासचिव प्रदिप अर्याल, नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापा मगर, प्रेस सेन्टर मकवानपुरका उपाध्यक्ष राजकुमार केसी, वाइसीएल हेटौंडा–५ का अध्यक्ष हरि ढकाललगायतको आतिथ्य रहेको थियो ।