बालिकाको उद्दारको क्रममा भेला भएका स्थानीय ।

हेटौँडाः बालश्रम प्रयोग गर्ने दुई व्यक्तिलाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले मंगलबार जरिवाना गराउँदै श्रमिक बालिकाहरुलाई क्षतिपूर्ति समेत भराइएको छ । एक बर्षदेखि १६ वर्षीया एक बालिकालाई घरेलु बालश्रममा प्रयोग गर्दै आएकी हेटौँडा–११, गोल्फिन्टारका माता भनिने भूमिका कालाखेतीलाई कार्यालयले सात हजार रुपैयाँ जरिवाना र २४ हजार रुपैयाँ क्षतिपूर्ति गराइएको छ ।

यस्तै हेटौँडा–११, थानाभ¥याङस्थित शेर्पा होटलमा पाँच महिनादेखि १६ वर्षीया एक बालिकालाई श्रममा लगाउँदै आएको पाइएपछि होटल सञ्चालक सुमन शेर्पालाई नगद ३ हजार रुपैयाँ जरिवानासहित १७ हजार रुपैयाँ क्षतिपूर्ति भराइएको श्रम तथा रोजगार कार्यालय हेटौँडाका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिनुभयो । ११ नम्बर वडा कार्यालयको अगुवाईमा बालश्रम अनुगमन गर्ने क्रममा २ बालिकाको उद्दार गरिएको थियो ।

वडा अध्यक्ष जुना दहालको नेतृत्वमा नेपाल प्रहरी, टोल विकास संस्थाका प्रतिनिधिहरु, बालमैत्री सहजकर्ता, सिविन बाल हेल्पलाइनका प्रतिनिधि लगायत सरोकारवालाहरुको टोलीले अनुगमन गरेको हो । बालिकाहरुलाई उद्दार पश्चात् बाल हेल्पलाइनको आपतकालिन संरक्षणमा राखी मनोविमर्श सेवा समेत उपलब्ध गराइएको हो । बाल हेल्पलाइनले बालबालिकाको आपतकालिन उद्दार, संरक्षण, राहत, मनोविमर्श तथा पारिवारिक पुनर्मिलन जस्ता सेवा प्रदान गर्दै आइरहेको छ ।