हेटौँडाः चितवन र रामेछाप जिल्लामा सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार चितवन जिल्लाको भरतपुर महानगरपालिका–१०, विशालचोकमा बसले साईकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११, भोजाडका ७२ बर्षीय खेमलाल अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार राती ८ बजेर ५० मिनेटको समयमा काठमाडौंबाट काकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०३५३ नम्बरको बसले साईकललाई ठक्कर दिँदा अधिकारी घाइते भएका थिए । घाइते अधिकारीलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा राती ९ बजेर २६ मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका–७, कल्लेरीमा बोलेरो गाडी ब्रेकफेल भई दुर्घटना हुँदा बोलेरोमा सवार एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कल्लेरी गणेशथान बस्ने ६५ बर्षीया माया बिक रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार मन्थली नगरपालिका–१ मन्थलीबाट खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीतर्फ यात्रु बोकेर जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३९०९ नम्बरको बोलेरो गाडी अचानक ब्रेकफेल भई सडकबाट २ सय मिटर तल खसी दुर्घटना हुँदा बिकको घटनास्थलमा नै मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । ९ जना घाईतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको र एक जनाको मन्थली अस्पताल रामेछापमा उपचार भइरहेको छ ।