निर्वाचत स्थगित गरिएको सम्बन्धमा जानकारी दिन निर्वाचन समितिले जारी गरेको सूचना ।

हेटौँडाः नेपाल पत्रकार महासंघको निर्वाचन दोस्रो पटक पनि स्थगित भएको छ । शुक्रबार एक सूचना जारी गर्दै महासंघ केन्द्रीय निर्वाचन समितिले असार २२ गते शनिबार (आज) का लागि तोकिएको मितिमा निर्वाचन हुन नसकेको जनाएको हो । यसअघि महासंघले गत जेठ २६ गतेका लागि निर्वाचनको तालिका सार्वजनिक गरेको थियो ।

यसअघि निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज शनिबार मतदानको समय तोकिएको थियो । महासंघले तोकिएको मितिमा निर्वाचन हुन नसकेको र अब महासंघबाट मिति तोकिएर आइसकेपछि कार्यक्रम अगाडि बढाउने निर्वाचन समितिले जनाएको छ । निर्वाचनका लागि सहज वातावरण नबनेको भन्दै तत्काल चुनाव नहुने भएको निर्वाचन समितिले जनाएको छ ।

महासंघले सदस्यताको विवाद टुङ्ग्याउन नसक्दा निर्वाचन प्रक्रिया पनि अगाडि बढ्न नसकेको हो । महासंघले सदस्यता विवाद नटुङ्ग्याइकन निर्वाचन मिति घोषणा गरेको भन्दै यसअघि प्रेस युनियन लगायतका विभिन्न पत्रकार संगठनहरुले महासंघ जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा तालाबन्दीका साथै विभिन्न विरोधका कार्यक्रमहरु गरिएको थियो ।

महासंघको निर्वाचन दोस्रो पटक सरेको हो । यसअघि महासंघको २७ औं महाधिवेशनले जेठ २६ गते केन्द्रीय समिति, प्रदेश र जिल्ला समितिको निर्वाचन मिति तोकिएकोमा स्थगित भएर असार २२ गतेका लागि निर्वाचिन मिति तोकिएको थियो । लोकतन्त्र, नागरिक स्वतन्त्रता र मानव अधिकारको रक्षाका लागि सदैव लड्ने, सरकारको खबरदारी गर्ने पत्रकारहरुको छाता संगठनको निर्वाचन दोस्रो पटक पनि सम्पन्न हुन नसक्नुलाई चिन्ताको विषयको रुपमा हेरिएको छ ।