फाइल तस्बीर ।

हेटौँडाः केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै बागमती प्रदेश सरकारमा पनि संकट देखिएको छ । केन्द्रमा एमाले–कांग्रेस सत्ता साझेदारीको सहमति बनेसँगै शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकार ढल्ने निश्चित भएको हो ।

नयाँ समीकरण अनुसार केन्द्रमा सरकार निर्माणको तयारी थालिएसँगै माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकार पनि दिनगन्तीमा थलिएको छ । शालिकराम जम्कट्टेल नेतृत्वको प्रदेश सरकार ढल्ने लगभग पक्का भएसँगै एमाले–कांग्रेसले पनि नयाँ समीकरण अनुसार सत्ता साझेदारी अघि बढाएका छन् ।

३ पटक विश्वासको मत लिएर १८ महिनासम्म सरकार टिकाएका जम्कट्टेलले अन्ततः सत्ताको बागडोर कांग्रेसको हातमा सुम्पिनुको विकल्प देखिँदैन । प्रदेश सरकार निर्माण, पावर सेयरिङ लगायतका विषयमा निर्णय सत्ता साझेदार प्रमुख दलहरु केन्द्रको कदमको पर्खाइमा रहेका छन् । साझेदार दलका नेता तथा सांसदहरु केन्द्र सरकार गठन लगत्तै प्रदेश सरकारका विषयमा अघि बढ्ने तयारीमा रहेका छन् ।

सत्ता साझेदार दल एमाले वर्तमान जम्कट्टेल नेतृत्वको सरकारको प्रमुख अंग हो । एमालेकै भरमा मुख्यमन्त्री टिकाएका जम्कट्टेलको सरकारबाट बाहिरिन एमाले केन्द्रको निर्देशन पर्खिरहेको छ । एमाले सांसद एवम् प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलका अनुसार केन्द्रमा सरकार निर्माण प्रक्रिया अघि बढे लगत्तै प्रदेश सरकारका बारेमा निर्णय हुनेछ । केन्द्रको समीकरण अनुसार नै सरकार निर्माण र पावर सेयरिङका बारेमा सहमतिको खाका तयार भएकाले सोही अनुसार नै अघि बढ्ने उहाँले बताउनुभएको छ । तत्काल ठोस निर्णय नभएकाले केन्द्रमा प्रधानमन्त्री नियुक्ति प्रक्रिया र सरकार निर्माण थालिएपछि प्रदेशको कामकारवाही अघि बढ्ने उहाँको भनाई छ । केन्द्रको निर्देशन लगत्तै प्रदेश सरकारबाट बाहिरिने उहाँले बताउनुभयो ।

‘अहिले तत्काल यसै गर्छौ भन्ने अवस्था छैन । केन्द्रमा प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढेसँगै प्रदेश सरकारको पनि काम अघि बढ्छ । केन्द्रको निर्देशन आएपछि हामी सरकारबाट बाहिरिन्छौ र नयाँ सरकार गठनको गृहकार्यमा सरिक हुन्छौं’, उहाँले भन्नुभयो, ‘हामी सरकारबाट बाहिरिने निश्चित हो । केन्द्रमा प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भनिरहनु भएको छ । त्यसो हुँदा केही दिन लाग्न सक्छ ।’ उहाँका अनुसार समीकरण परिवर्तन पछि कांग्रेस र एमाले बीच सिद्धान्त र एजेण्डामा बहस तथा छलफल गर्नुपर्ने हुन्छ । दुई ठुला शक्तिको एलायन्सले सिद्धान्त र एजेण्डामा भएको विमतिलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

एमाले संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले एमाले कांग्रेस सत्ता साझेदारी विशेष परिस्थितिबाट भएको बताउनुभयो । राजनीतिक अस्थिरता हटाउन निर्वाचन प्रणाली परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने र राजनीतिक दलहरुको व्यवस्थापनको लागि अहिलेको गठबन्धन निर्माण भएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारमा दलहरुबीच सन्तुलन कायम गर्न छुट्टै कार्यदल निर्माण गरी अघि बढ्ने तयारी रहेको छ । सरकारको काममा सघाउने र असमझ्दारीका सन्दर्भमा व्याख्या तथा विश्लेषण गर्नेगरी राजनीतिक तवरमा कार्यदल बनाएर काम गरिने उहाँको भनाई छ ।