हेटौँडाः २०८० सालको एसईईमा हेटौँडा उपमहानगरका २ वटा विद्यालयको नतीजा शून्य आएको छ । एउटा निजी र एउटा सामुदायिक विद्यालयबाट एसईईमा सहभागी सबै विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले आइतबार तयार पारेको विवरणअनुसार हेटौँडा–५ स्थित उज्ज्वल शिशु निकेतन मावि र हेटौँडा–१६, हटियास्थित त्रिभुवन माविका सबै विद्यार्थी अनुत्तीर्ण भएका हुन् । उज्ज्वल शिशु निकेतनबाट एसईईमा १२ जना विद्यार्थी सहभागी थिए भने त्रिभुवन माविबाट १६ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए ।
२०८० सालको एसईईमा हेटौँडा उपमहानगरका सामुदायिक र संस्थागत २९/२९ वटा विद्यालयबाट ३ हजार ५६ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । हेटौँडा उपमहानगरका ५८ वटा विद्यालयबाट १ हजार ७ सय ११ जना अर्थात ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले गत बिहिबार (असार १३ गते) नतीजा सार्वजनिक गरेको हो ।