हेटौँडाः राजश्व छलेर ढुङ्गा र बालुवा ढुवानी गर्दै गरेको ७ वटा टिपर हेटौँडा उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ । बिहिबार साँझ हेटौँडाको रातोमाटे र चौकिटोलबाट नियन्त्रणमा लिएको हो ।
भीमफेदी गाउँपालिकाबाट निकासी भएको बालुवा र ढुङ्गा ढुवानी गर्ने टिपरमा चलानी र भ्याट बिल नभएकोले नियन्त्रणमा लिएको हेटौँडा उपमहानगरपालिकाका अधिकारीले जानकारी दिएको छ । भीमफेदी गाउँपालिकाको सगरमाथा रोडा उद्योगबाट ३ टिपर बालुवा र पवित्रा कंक्रिट उद्योगबाट ४ टिपर ढुङ्गा निकासी हुँदै गर्दा राजश्व छली समेत भएको देखिन्छ ।
हेटौँडा उपमहानगरपालिकाको राजश्व संकलन टोलीले टिपर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका टिपर मध्ये ४ वटा टिपर हेटौँडा उपमहानगरपालिकाको कार्यालय अगाडि नै राखिएको छ भने ३ वटा टिपर रातोमाटेमा राखिएको छ । राजश्व छली गरी निकासी हुँदै गरेको विषयमा छलफल भइरहेको बताइएको छ ।