लागुऔषध गाँजासहित नियन्त्रणमा लिईएको ट्रक

हेटौँडाः मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो र राती छुट्टाछुट्टै स्थानबाट दुईवटा ट्रकमा लागुऔषध गाँजा तस्करी भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले २ वटा ट्रकसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

बुधबार दिउँसो साढे ३ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रातोमाटे चेकपोष्टबाट प्रहरीले १ सय ५५ केजी लागुऔषध गाँजा बरामद गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा चितवनबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख १११८ नम्बरको डिब्बा ट्रकलाई रोकी सुरक्षाजाँच गर्दा १ सय ५५ केजी लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकसहित ट्रक चालक चितवन जिल्लाको राप्ती नगरपालिका–२, गड्यौलीका ३६ बर्षीय सुनिल मुक्तान, ४७ वर्षीय राजेन्द्र प्रसाद रुवालीर ट्रकमा सवार चितवन जिल्लाकै राप्ती नगरपालिका–१, लोथरका २० बर्षीय अनिल भन्ने धन बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै बुधबार राती १ बजेर १५ मिनेटको समयमा भीमफेदी गाउँपालिका–१, सामरी पुल नजिकै भित्री सडकखण्डमा रोकेर राखेको बा ३ ख ४६१ नम्बरको मिनिट्रकबाट प्रहरीले १ सय ७५ केजी लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सुचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । प्रहरीले ट्रकसहित ट्रक चालक हेटौँडा–४ का ५१ बर्षीय पूर्ण बहादुर रुम्बालाई नियन्त्रणमा लिएको जनाएको छ ।