हेटौँडाः उच्च अदालत पाटन हेटौँडा इजलाशले काली बहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदातल चितवनले गरेको आदेशलाई नै सदर गरेको छ । उच्च अदालत पाटन हेटौँडा इजलाशका न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलाशले बिहिबार र शुक्रबार दुइदिनको बहसपछि कर्तव्यज्यान मुद्दामा जिल्ला अदालत चितवनको आदेशलाई सदर गर्दै पुर्पक्षमा राख्न आदेश गरेको हो ।
गत २०८० साल चैत २० मा काठमाडौँबाट पक्राउ परेका खामलाई जिल्ला अदालत चितवनले २०८० चैत २३ मा पुर्पक्षमा राख्न आदेश दिएको थियो । उक्त आदेश बदरको माग गर्दै खाम पक्षले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । सो मुद्दामा उच्च अदालत पाटन हेटौंडा इजलाशले खामलाई थुनामा नै राख्न आदेश दिएको हो ।
उच्च अदालत पाटन हेटौँडा इजलाशमा खामको पक्षबाट वरिष्ठ अधिवक्ता रामनारायण विडारी लगायतले बहस गरेका थिए भने खामको विपक्षमा वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले, अधिवक्ताहरु मदन कुमार दाहाल, अमृत कुमार लामा, अप्सरा बस्नेत र मोहनप्रसाद ढकालले बहस गरेका थिए ।
जनमुक्ति सेनाका पूर्वकमाण्डर खाम माथि कोटेश्वर बस्ने रामहरि श्रेष्ठको हत्या गरेको आरोप छ । २०६५ वैशाख २८ मा नारायणी नदीमा श्रेष्ठको शव भेटिएको थियो । चितवनको शक्तिखोरमा जनमुक्ति सेना ‘तेस्रो डिभिजन’का कमाण्डर खामको सम्पर्क कार्यालय कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा भाडामा राखिएको थियो । सम्पर्क कार्यालयबाट २०६४ चैत १४ मा हतियार र १७ लाख रुपैयाँ नगद चोरी भएको विषयमा छानबिनको नाममा श्रेष्ठको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष निकालेको थियो ।
माओवादी लडाकुहरूले २०६५ वैशाख १५ मा श्रेष्ठलाई कोटेश्वरबाट शक्तिखोरमा लगेर थुनामा राखी यातना दिएको पीडित परिवारको आरोप छ । शव नारायणीमा भेटिएपछि श्रेष्ठकी पत्नी रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । खाम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।