बागमती प्रदेश सभा सचिवालय ।

हेटौँडाः बागमती प्रदेशमा सरकार, सत्तापक्ष दल र प्रमुख प्रतिपक्ष दलबीच ५ बुँदे सहमति भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बजेटप्रति असन्तुष्टि जनाउदै प्रदेश सभा बैठक अवरोध गरेपछि शुक्रबार सरकार, सत्तापक्षमा रहेका राजनीतिक दल र प्रमुख प्रतिपक्षबीच पाँच बुँदे सहमति भएको हो । यो सहमतिसँगै बागमती प्रदेशसभाको अवरोध हटेको छ ।

प्रतिपक्ष दलले बजेटप्रति उठाएका असहमतिका सवालमा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट छलफलका लागि टेवल गर्नुअघि वक्तव्यमार्फत पेनड्राइभमा भएको विवरण (प्राविधिक त्रुटि) सच्चाएर किताव प्रकाशन गरी ल्याएको जानकारी गराउने पहिलो सहमति रहेको छ । त्यसैगरी प्राविधिक र कानुनी कार्यविधि मिलाई बजेट सन्तुलित बनाउने पनि सहमति भएको छ ।

त्यस्तै प्रतिपक्ष दलहरुको मागअनुसार कार्यक्रम विवरणमा समावेश भएका कार्यक्रम शिर्षकमा शिलिङ भित्रको अपुग रकम थप गर्न सरकारपक्ष सहमति भएको छ । सहमतिपत्रमा मुख्यमन्त्री शालिकराम जम्मकटटेल, आर्थिक मन्त्री जगन्नाथ थपलिया, सांसद कृष्ण खनाल तथा प्रतिपक्षका तर्फबाट बहादुरसिंह लामा र उद्धव थापाले हस्ताक्षर गरेका छन् । बजेट माथी विरोध गर्दै बिहिबारदेखि प्रदेशसभा बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाले अवरोध गर्दै आएका थिए ।