बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठक ।

हेटौँडाः आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटमाथि छलफलका लागि बिहिबार दिउँसो १ बजे सुरु भएको बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रतिपक्षी दलले बजेट असन्तुलित भएको भन्दै पुनर्लेखन गर्न माग गरेर अवरोध गरेपछि सभामुख भुवन कुमार पाठकले प्रदेश सभाको बैठक स्थगित गर्नुभएको हो ।

सभामुख पाठकले प्रदेश सभा बैठक बिहिबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गर्नुभएको छ । आर्थिक ममिला मन्त्री जगन्नाथ थपलियालाई बजेटमाथि छलफलका लागि प्रस्ताव पेश गर्न सभामुख पाठकले प्रस्ताव गर्नुभए लगत्तै प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेको थियो । अवरोधपछि सभामुख पाठकले प्रमुख प्रतिपक्षी दलका नेता बहादुरसिं लामालाई बोल्न दिनुभएको थियो । प्रमुख प्रतिपक्षी दलका नेता लामाले बजेटमा तारतम्य नमिलेको, असन्तुलित भएको भन्दै विरोध जनाउनुभएपछि प्रतिपक्षी दल नेपाली काँग्रेस र राप्रपाका प्रदेश सभा सदस्यहरुले अवरोध गरेका थिए । प्रतिपक्षी दलका प्रदेश सभा सदस्यले नारावाजी गरेर अवरोध गरेपछि सभामुख पाठकले बैठक स्थगित गर्नुभएको हो ।

प्रतिपक्षी दलका नेता लामाले आय–व्ययको तारतम्य नमिलेको, आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गर्नुभएको बजेट वक्तव्य र प्रदेश सभा सदस्यलाई पेन ड्राइभमा दिइएको दस्तावेजमा समेत फरक पाइएको आरोप लगाउनुभएको छ ।