हेटौँडाः शैक्षिक सहयोग अक्षयकोषमा १ लाख २० हजार रुपैयाँ थपिएको छ । शनिबार नारायणी यातायात व्यवसायी संघले कोषमा १ लाख रुपैयाँ र बुधबार मकवानपुर बहुमुखी क्याम्पसले २० हजार ३ सय रुपैयाँ अक्षयकोषलाई सहयोग गरेको छ ।
२०७६ सालमा स्थापना भएको कोषमा एक सय जना व्यक्ति र २० वटा संस्था सदस्य बनेका छन् । कोषमा अहिले १८ लाख रुपैयाँ पुगेको कोषका अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभएको छ ।
शनिबार नारायणी यातायात व्यवसायी संघले संघै कार्यालयमा एक कार्यक्रमका बीच कोषमा रकम सहयोग गरेको थियो भने मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष अनन्त प्रसाद पौडेल र क्याम्पस प्रमुख यमबहादुर सिलवालले सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।
अक्षय कोषबाट प्राप्त हुने ब्याज रकमबाट कक्षा ९ देखि १२ का विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने गरिएको छ । शिक्षामा बालबालिकाको पहुँच पु¥याउने उद्देश्यले कोषले दुवै अभिभावक गुमाएका बालबालिका, एक अभिभावक गुमाएका बालबालिका र विपन्न बालबालिकालाई छात्रवृत्ति वितरण गर्दै आएको छ । कोषले गत बर्ष १० जना बालबालिकालाई छात्रवृत्ति वापत ९४ हजार रुपैयाँ वितरण गरेको थियो । कोषले बढीजसो विपन्न माझी, वनकरिया, चेपाङ आदि दुर्गम स्थानका बालबालिकालाई छात्रवृत्ति वितरण गर्दै आएको छ ।
कोषको उद्देश्य विपन्न र अभिभावकविहिन बालबालिकाको शिक्षामा पहूँच बढाउन छात्रवृत्तिको व्यवस्था गर्ने, शैक्षिक संस्थाको पूर्वाधार विकास र शैक्षिक सामग्री व्यवस्थापनका लागि सहयोग पु¥याउने, शिक्षासँग सरोकार राख्ने नागरिकहरूलाई उत्प्रेरित गरी शैक्षिक गुणस्तर सुधारमा टेवा पु¥याउने, विद्यालय भर्ना भएका बालबालिकाहरूको शिक्षामा निरन्तरताका लागि सहयोग गर्ने रहेको खुलालले जानकारी दिनुभयो ।
अक्षय कोषलाई विस्तार गर्न कोषमा आवद्धताका लागि नागरिक तथा सरोकारवालाहरूलाई उत्प्रेरित गर्ने, विपन्न र अभिभावक गुमाएका बालबालिकाहरूको शैक्षिक कल्याणका योजनाहरू तयार गर्ने तथा तिनको शर्तहरू निर्धारण गर्ने, विद्यालयको शैक्षिक, भौतिक लगायत पूर्वाधार विकासका लागि दाताहरूको खोजी गरी विद्यालय सुधारका लागि समन्वय गर्ने, कोषबाट बार्षिक रुपमा वितरण गरिने छात्रवृत्ति वितरणका आधारहरू तयार गर्ने र छात्रवृत्तिका विधाहरू निर्धारण गर्ने गरेको छ । कोषमा ४ प्रकारले आवद्ध हुन सकिने उहाँले जानकारी दिनुभयो । सस्थामा साधारण सदस्य, आजिवन सदस्य, विशिष्ट सदस्य र संस्थागत सदस्य रहेका छन् ।