हेटौँडाः बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले राजनीतिको मूलधारमा युवालाई ल्याउनुपर्ने बताउनुभएको छ । पछिल्लो समय युवामा राजनीतिप्रति वितृष्णा बढ्दै गएकाले उनीहरुको प्रतिनिधित्व सुनिश्चितता गरेर अघि बढ्नुपर्ने मन्त्री थपलियाले बताउनुभयो ।
बागमती प्रदेश युवा परिषद्ले बुधबार हेटौँडामा आयोजना गरेको प्रदेश युवा नमुना संसद अभ्यास कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री थपलियाले स्पष्ट विचार र सिद्धान्तसहित राजनीतिमा युवाको सहभागिता वर्तमान आवश्यकता भएको बताउनुभयो । युवा जोश जाँगरलाई राजनीति र विकास निर्माणमा प्रयोग गर्नुपर्ने उहाँको भनाई छ । ‘राजनीतिको मूलधारमा युवाको प्रतिनिधित्व आवश्यक रहन्छ । विचार, सिद्धान्तमा स्पष्टतासहित युवालाई राजनीतिमा आकर्षित गर्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो ।
युवा शक्तिको परिचालनबाट नै मुलुकको समृद्धि सम्भव रहेकाले पहिचान र मौलिकतासहितको विकासका काममा युवाहरुको प्रत्यक्ष संलग्न हुनुपर्ने उहाँले बताउनुभयो । ठोस लक्ष्य र उद्देश्यका साथ सरकारले युवालाई परिचालनको रणनीति निर्माण गरेर काम गर्नुपर्ने मन्त्री थपलियाको भनाइ थियो । उहाँका अनुसार प्रदेश सरकारले युवाको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु अघि सारेको छ । प्रदेश सरकारले उद्यमशीलाता विकासका लागि युवा परिचालनको मोडल निर्माणका लागि छुट्टै संरचना निर्माण गरेर अघि बढेको उहाँले जानकारी दिनुभयो । विज्ञान र प्रविधिको प्रयोगले संसारलार्ई नै चुनौति थपिरहेको अवस्थामा युवाको क्षमता र दक्षता पहिल्याउन सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।
युवा नमुना संसद अभ्यास कार्यक्रम आगामी शनिबारसम्म संचालन हुने आयोजक प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा प्रदेशका १३ जिल्लाबाट ४४ जना युवाको सहभागिता रहेको छ । १३ जिल्लाका एक/एक स्थानीय तहबाट एक किशोर र एक किशोरी गरी २६, राष्ट्रिय युवा परिषद्को सिफारिसमा ८ जना र बाँकी प्रदेश युवा परिषद्ले छनौट गरी सहभागी पठाएको चौलागाईले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीले ३ दिनमा संसदीय अभ्यास, संसदको काम कारवाही, प्रदेशसभा नियमावलीको प्रावधानहरु बरेमा अभ्यास गर्नेछन् ।