सांकेतिक तस्वीर ।

हेटौँडाः बामगती प्रदेशका ५ जिल्लामा शनिबार विभिन्न घटनामा परी ६ जनाको मृत्यु भएको छ । चितवनका दुई, मकवानपुर, नुवाकोट, रसुवा र सिन्धुलीमा एक–एक जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

शनिबार मकवानपुरको मनहरी गाउँपालिकामा लडेर एक जना पुरुषको मृत्यु भएको छ । शनिबार राति ९ बजे मनहरी–३ स्थित डोढेका ५६ बर्षीय कर्ण बहादुर ब्लोनको लडेर मृत्यु भएको हो । सोही ठाउँस्थित गुम्बाबाट लेबर काम गरेर मादक पदार्थ सेवन गरी घर फर्किने क्रममा ब्लोन पश्चिम सडक छेउमा अचानक आफैँ लडेर मृत अवस्था छ भनेर प्रहरीलाई खबर प्राप्त भएको थियो । खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली खटिएको थियो ।

चितवनको माडी नगरपालिकामा ट्याक्टरले च्यापिएर एकजनाको मृत्यु भएको छ । शनिबार बिहान ११ बजेको समयमा माडी–२ स्थित भैरवपुरमा ट्याक्टरको ढालाले च्यापेर सोही ठाउँका ३१ वर्षीय रविन राना मगरको मृत्यु भएको हो । ट्याक्टरको हाईड्रोलिक जाम भएको भन्दै आफ्नै घरमा बनाउने क्रममा एक्कासी ढाला खसी लाग्दा मगर गम्भीर घाइते भएका थिए । घाइते मगरलाई बघौडा अस्पताल माडीमा उपचारका लागि लगिएकोमा बिहान ११ बजेर ४० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका–२३ मा एक महिलाको मृत्यु भएको छ । ५८ वर्षीया देवी अधिकारी आफ्नै बारीमा घाँस काट्ने क्रममा एक्कासी ढलेर बिरामी भई उपचारका लागि अस्पताल लगिएकोमा मृत्यु भएको हो । अधिकारीलाई राति ८ बजेर १० मिनेटको समयमा उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएकोमा ८ बजेर २१ मिनेटमा डाक्टरले मृत घोषणा गरेको हो ।

नुवाकोटको तादी गाउँपालिका–३, बाङ्गेटारमा साँझ ५ बजे पौडी खेल्ने क्रममा डुबेर मृत्यु एक बालिकाको मृत्यु भएको छ । तादी खोलाको ककरे दहमा पौडी खेल्ने क्रममा डुबेर तादी–१ की १३ वर्षीया अनिषा थिङ तामाङको मृत्यु भएको हो । तामाङको शव शनिबार राति १० बजेर २९ मिनेटको समयमा मुचुल्का पश्चात पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुलीमा लगिएको थियो ।

रसुवा जिल्लाको कालिका गाउँपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका–५, चेतेका २२ वर्षीय टेक बहादुर घले रहेका छन् । शनिबार बिहान ८ बजेर १५ मिनेटको समयमा बेत्रावती–मैलुङ–स्याफ्रूवेसी सडकखण्डमा पुल मर्मत गर्नका लागि प्रयोग गरेको स्काभेटरमा डिजेल भर्नका लागि स्काभेटरको बकेटमा हेल्परसहित डिजेल राखेर बकेट उठाउने क्रममा अचानक बिजुलीको हाईटेन्सन लाईनमा छुन पुग्दा घले गम्भीर घाइते भएका थिए । करेन्ट लागेर गम्भीर घाइते घलेलाई उपचारका लागि त्रिशुली अस्पताल नुवाकोट लगिएकोमा बिहान १० बजेर ३९ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको हो । घलेको शव उनको बुबाले बुझी लगेको प्रहरी जनाएको छ ।

यस्तै सिन्धुली जिल्लाको मरिण गाउँपालिका–२ स्थित कटनडाँडामा एक जना मृत फेला परेका छन् । सोही ठाउँका ५८ वर्षीय टेक बहादुर दंगाली मृत फेला परेका हुन् । शनिबार दिउँसो १ बजे जडिबुटी खोज्न घरबाट हिँडेका दंगाली राति अबेरसम्म घर नआएपछि बिहान स्थानीय र आफन्तहरुले खोजतलास गर्ने क्रममा घरबाट ७ किलोमिटर पुर्वमा रहेको खोँचमा मृत अवस्था भेटिएका थिए । घटनास्थलको अवस्था हेर्दा दंगाली उक्त भिरबाट १ सय ५० मिटर तल खसेर मृत्यु भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।