हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । आइतबार बिहान नगरप्रमुख मीना कुमारी लामाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।
नीति तथा कार्यक्रमको पहिलो बुँदामै बिपन्न तथा गरिब परिवारलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई महत्व दिँदै मेयर हिट कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ । एक वडा, एक बालमैत्री पार्क, उज्यालो र सुरक्षित सहर, नियमित मर्मत सम्भार–दिगो पूर्वाधारको आधार जस्ता नारासहित नीति तथा कार्यक्रममा विविध विषय समेटिएका छन् । कृषि एम्बुलेन्स र पशु एम्बुलेन्ससँगै जनावर सेवा आश्रम सञ्चालन गरिने नीतिमा उल्लेख छ ।
रोजगार बैंक तयार पार्ने, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, विद्यालयमा सुनौलो शुक्रबार कार्यक्रम, शिक्षक बैंकको व्यवस्था गर्ने, तामाङ तथा नेपाल भाषाको प्रवद्र्धन गर्न स्थानीय पाठ्यक्रमका रुपमा विद्यालय तहमा पठनपाठनका लागि आवश्यक व्यवस्था मिलाइने नीतिमा उल्लेख छ । युवामा स्वयम्सेवा, सकारात्मक सोच, उद्यम प्रवद्र्धन, तथा दूव्र्यसन नियन्त्रणसम्बन्धी परामर्श तथा क्षमताम विकासका कार्यक्रममार्फत युवा सशक्तीकरण गर्न युवासँग उपमेयर कार्यक्रम सञ्चालन गरिने नीति लिइएको नगरप्रमुख लामाले जानकारी दिनुभएको छ ।
राष्ट्रिय महिला फुटबल लिग सञ्चालनका लागि आवश्यक व्यवस्था गर्ने, जनतासँग मेयर स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, हटिया र पदमपोखरी आधारभूत अस्पताललाई स्वास्थ्य बीमा बोर्डमा आवद्ध गर्ने, नगरको सहयोगमा हेटौँडा अस्पतालमा निर्माणाधिन प्रसुती वार्ड सञ्चालनमा ल्याइने, खानेपानीमा दिइँदै आएको न्यूनतम् महसुल छुटको कार्यक्रम पुनरावलोकन गर्ने, योग एवम् सकारात्मक जीवनशैलीसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरी मेरो स्वास्थ्य मेरो जिम्मेवारी कार्यक्रम सञ्चालन गर्ने नगरप्रमुख लामाले बताउनुभएको छ । नीति तथा कार्यक्रममा सुलभ फार्मेसी सञ्चालन गर्ने विषय पनि समेटिएको छ ।
“लैंगिक हिंसामुक्त नगर, दिगो समृद्धिको आधार”, आमाछोरी कार्यक्रम, सासु–बुहारी कार्यक्रम, किशोरी संवाद जस्ता कार्यक्रमसँगै बालमैत्री स्थानीय शासनयुक्त उपमहानगर घोषणाको विषय पनि नीति तथा कार्यक्रममा समावेश छ । नियमितजसो यस पटक पनि नीति तथा कार्यक्रममा “प्लास्टिक झोला मुक्त नमूना नगर” कार्यक्रम पनि उपमहानगरको नीति तथा कार्यक्रममा प्राथमिकतामै परेको छ । खानेपानीको स्रोतको सुरक्षाका लागि पुनर्भरणका लागि रिचार्ज पोखरी निर्माण गर्ने, सार्वजनिकस्थलमा आवश्यकता र स्म्भावनाका आधारमा व्यवस्थित शौचालय निर्माण गर्ने, सुरक्षाका लागि नगरका मुख्यक्षेत्रमा जडान भएका सीसीक्यामेरा मर्मत गर्ने नीतिमा उल्लेख छ । करको दायरा बढाउने, कर तिर्ने प्रक्रिया सहज र सरल बनाउने, नगर कर सहजकर्ता परिचालन गरिने पनि नगरप्रमुख लामाले उल्लेख गर्नुभएको छ ।