हेटौँडाः हेटौँडा अस्पतालको बैंक खाता सञ्चालनको विषय विवादमा परेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको कृषि विकास बैंकको हेटौँडा शाखामा रहेको खाता सञ्चालन गरेपछि विवाद भएको हो । यसअघि अस्पताल समितिको खाता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र लेखा अधिकृतले सञ्चालन गर्दै आएको थियो । अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएपछि प्रतिष्ठानले खाता सञ्चालनका लागि प्रतिष्ठानकै निर्देशक र लेखा अधिकृतमार्फत खाता सञ्चालन गर्न सुरु गरेसँगै विवाद देखिएको हो ।

हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीधर अर्यालले भने प्रतिष्ठानको कार्यकारी परिषद्का पदाधिकारी र सदस्यसहित अस्पतालको खाता नियन्त्रणमा लिएको दावी गर्नुहुन्छ । डा. अर्यालले प्रतिष्ठानका पदाधिकारीलाई कारवाहीको माग गर्दै मुख्यमन्त्री कार्यालयसहित माथिल्लो निकायमा पत्राचार समेत गर्नु भएको छ । यता मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. धिरेन्द्र गिरिले प्रतिष्ठानको ऐनले निर्देशित गरे अनुसार नै अस्पतालको खाता सन्चालन गरेको बताउनु हुन्छ । उहाँका अनुसार ऐन विपरित कुनै काम नगरिएको र प्रतिष्ठानको ऐनले अस्पताल सन्चालन तथा आर्थिक अधिकार निर्देशकसहित लेखा हेर्ने कर्मचारीलाई तोकेको छ ।

मन्त्रालयको पत्राचारपछि अस्पतालको खाता सञ्चालन गरिएको निर्देशक डा. गिरिले बताउनुभएको छ । ‘म प्रतिष्ठानको निर्देशक हुँ । मेरो व्यक्तिगत केही पनि छैन । हामीले ऐनले निर्देशित गरे अनुसार नै काम गरेका हौं’, गिरीले भन्नुभयो, ‘ऐनमा अस्पताल र आर्थिक अधिकार प्रतिष्ठान अन्तर्गत हुने भनिएको छ । सोही अनुसार कार्यकारी परिषद्को बैठकको निर्णय र रजिष्ट्रारको सिफारिसमा उपकुपतिले आर्थिक अधिकार तोक्ने कानुनी व्यवस्था रहेको छ । त्यस बाहेक पनि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुुसार स्वास्थ्य मन्त्रालयले आर्थिक अधिकारका लागि प्रतिष्ठानलाई पत्राचार गरेको थियो ।’

हालसम्म सो खाताबाट कर्मचारीको एक महिनाको तलब भत्ता मात्र खर्च भएको उहाँले बताउनुभयो । कृषि विकास बैंकसँगै प्रतिष्ठानले नेपाल बैंकमा रहेको अस्पतालको फार्मेसीको खाता पनि प्रतिष्ठानमार्फत नै सञ्चालन गर्न सुरु गरेको छ । नेपाल बैंकको खाताको विषयमा भने मेसु अर्यालले कुनै प्रतिक्रिया जनाउनुभएको छैन । यस्तै संघीय सरकारमातहतका चिकित्सक तथा कर्मचारीको तलबी खाता भने राष्ट्रिय वाणिज्य बैंकमा रहेको छ ।