हेटौँडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले पालिकामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरेको छ। पालिकासँगको सहकार्यमा मकवानपुरका ९ वटा पालिकामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन गर्ने क्रममा बुधबार राक्सिराङ गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरिएको हो।
आगामी आर्थिक बर्षदेखि संघीय सरकारले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै ज्येष्ठ नागरिकहरुको सहजताका लागि शिविर नै सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । पहिलो दिन राक्सिराङ गाउँपालिकामा ६५ जना ज्येष्ठ नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेलले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणका लागि २ जना कर्मचारीलाई राक्सिराङ खटाएको छ भने आज बिहिबारदेखि बागमती गाउँपालिकामा ३ जना कर्मचारीलाई खटाएको छ।
ज्येष्ठ नागरिकहरु जिल्ला सदरमुकामसम्म आउन, जान समस्या हुने देखिएकोले शिविर नै सञ्चालन गर्न खोजेको प्रशासनले जनाएको छ । प्रशासनले दुई टोली बनाएर जिल्लाका १० पालिकामध्ये ९ पालिकामा पालिकाको केन्द्रमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने व्यवस्था गरेको छ भने हेटौँडा उपमहानगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालयबाटै सेवा प्रवाह गरिने बताइएको छ । एउटा टोलीले राक्सिराङ गाउँपालिकामा जेठ ३० गतेदेखि असार १ गतेसम्म शिविर सञ्चालन गर्नेछ ।
असार ३ गतेदेखि ६ गतेसम्म कैलाश गाउँपालिकामा, असार ८ गतेदेखि १३ गतेसम्म थाहा नगरपालिकामा र असार १५ गतेदेखि १८ गतेसम्म ईन्द्रसरोवर गाउँपालिकामा शिविर सञ्चालन गर्नेछ । दोस्रो टोलीले बागमती गाउँपालिकामा जेठ ३१ गतेदेखि असार २ गतेसम्म, बकैया गाउँपालिकामा असार ४ गतेदेखि ७ गतेसम्म, मकवानपुरगढी गाउँपालिकामा असार ९ गतेदेखि १२ गतेसम्म, भीमफेदी गाउँपालिकामा असार १४ गतेदेखि १७ गतेसम्म र मनहरी गाउँपालिकामा असार १९ गतेदेखि २२ गतेसम्म राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन गर्नेछ । शिविरमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले मात्रै सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।