हेटौंडाः मृतक व्यवसायीका परिवारलाई मकवानपुर उद्योग वाणिज्य संघले नगद सहयोग गरेको छ । बुधबार संघले मृतक व्यवसायी केशव मुडवरी र दिनेश कार्कीको परिवारलाई नगद सहयोग गरेको हो ।
हेटौंडा–१३, पदमपोखरीस्थित स्टेशनरी व्यवसायी मुडवरीका श्रीमती लक्ष्मी सापकोटा र हेटौंडा–८, कमानेका ढुवानी व्यवसायी कार्कीका श्रीमती रमाकुमारी कार्कीलाई परिवारको उपस्थितिमा संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले दुई–दुई लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । मकवानपुर ग्यास व्यवसायी संघको अध्यक्ष एवम् फेमकोल एकेडेमीका फाउण्डरसमेत रहनुभएको व्यवसायी मुडवरीको जेठ २ गते मकवानपुरको बागमती गाउँपालिका–४ स्थित धरान–चतरा सडकखण्डमा दुर्घटनामा परेर मृत्यु भएको संघका अध्यक्ष अग्रवालले बताउनुभयो । ढुवानी व्यवसायी कार्कीको मकवानपुरको मनहरी गाउँपालिका–६ मा जेठ १२ गते मृत्यु भएको उहाँले बताउनुभयो ।
दुबै व्यावसायीको मृत्युको घटनाले संघलाई स्तब्ध बनाएको भन्दै अध्यक्ष अग्रवालले जिल्लामा दुःखमा परेको व्यसायीलाई सहयोग गर्ने कामबाट संघ पछि नपर्ने बताउनुभयो । संघले आफ्नोतर्फबाट मृतक परिवारलाई केही रकम सहयोग गरे पनि पारिवारिक कर्तव्यबाट पछि नपर्न दुबै पक्षलाई अनुरोध गर्नुभयो । घरपरिवारलाई सही ढंगले चलाउनका लागि बुबा, आमा, दाइ, भाइ, श्रीमती सबैको आफ्नो जिम्मेवारी हुने उहाँले धारणा राख्नुभयो । नगद हस्तान्तरण कार्यक्रममा संघका कोषाध्यक्ष सन्तोष अर्याल, सदस्य सीतादेवी भेटवाल, दिवश पराजुलीलगायतको उपस्थिति रहेको थियो ।