पुरस्कृत गरिए पश्चात सामुहीक तस्वीर खिचाउँदै ।

हेटौंडाः हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनमा भएको दौड प्रतियोगितामा भानु माविका छात्र रोजन विक र छात्रा कृषा डिम्डुङ प्रथम हुनुभएको छ । बुधबार ५२ औँ विश्व वातावरण दिवसको अवसरमा विद्यालयले ‘नवोदय रन’ प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक तक्षक सिम्खडाले जानकारी दिनुभयो ।

४ किलो मिटर दौड प्रतियोगिता भानुका रोजनले १४ मिनेट ३७ सेकेण्डमा दूरी पार गरेका थिए । प्रतियोगितामा छात्रतर्फ आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका अभिनेककुमार यादव द्वितीय, नवोदय शिशु सदनका प्रहस्थ खड्का तृतीय हुनुभएको थियो । प्रतियोगितामा भानु माध्यमिक विद्यालयका बिफल लोप्चन र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका विजयराज पासवान सान्त्वना हुन भएको सिम्खडाले जानकारी दिनुभयो ।

यस्तै, छात्रातर्फ भानु माविकै सरस्वती अर्याल द्वितीय र श्रमिक माविकी अस्मिता गौतम तृतीय हुनुभएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।

प्रतियोगितामा मकवानपुरमा रहेका १० वटा सामुदायिक तथा संस्थागत विद्यालयका ८६ जना विद्यार्थीको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक मनोज थिङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्य रहेको थियो ।